काठमाडौं- पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्ध भएका अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीले च्याम्पियन्स लिग जित्नु आफ्नो लक्ष्य भएको बताएका छन्।
ट्रान्सफर प्रक्रिया सकिएपछि बुधबार आयोजित पहिलो पत्रकार सम्मेलनमा मेस्सीले पीएसजी र आफ्नो लक्ष्य च्याम्पियन्स लिग जित्नु रहेकोले अनुबन्धन हुन धेरै सोच्नु नपरेको बताए।
‘पीएसजी र मेरो व्यक्तिगत लक्ष्य च्याम्पियन्स लिग जित्नु हो। म यस क्लबबाट ठूला प्रतियोगिता जित्न चाहन्छु। क्लब र मेरो लक्ष्य मिल्ने भएर नै यहाँ आएको हुँ। मलाई लाग्छ, त्यसका लागि हामीसँग टिम छ,’ उनले भने।
३४ वर्षीय मेस्सीले पछिल्लोपटक बार्सिलोनाबाट २०१५ मा च्याम्पियन्स लिग जितेका थिए। यता, २०२० को फाइनलमा बार्यन म्युनिखसँग पराजित भएको पीएसजी च्याम्पियन्स लिग जित्न बञ्चित भएको थियो।
मेस्सीले पीएसजी रोज्नु आफ्नो लागि निकै कठिन निर्णय भएकोसमेत बताएका छन्। उनले क्लबलाई धन्यवाद दिँदै पेरिस आएपछि निकै उत्साह थपिएको बताए।
‘गत साता मलाई जे भयो, त्यो निकै कठिन थियो। भावनात्मक रुपमा पनि मलाई निकै गाह्रो भयो। बार्सिलोनामा बस्न नसक्ने पक्का भएपछि मैले भविष्यबारे सोच्नु थियो। अघिल्लो साता जे भयो, त्यसलाई समयसँगै अघि लग्नुपर्छ। अब म र मेरो परिवार नयाँ सुरुवातलाई लिएर उत्साहित छौं,’ उनले भने।
मेस्सीले समर्थकबाट पाएको साथबाट आश्चर्यमा पारेक जनाउँदै आफू प्रशिक्षणमा उत्रन आतुर रहेको अभिव्यक्ति दिए। ‘मैले बार्सिलोनामा रहँदा नै पेरिसमा भिड जम्मा भएको थाहा पाएँ। जब यहाँ आएर समर्थन देखें, विश्वास गर्न सकिनँ। म समर्थकहरु प्रति आभारी छु र आशा छ यही भीड रंगशालामा हेर्न पाउनेछु। म भर्खर छुट्टिबाट फर्केको छु। अब केही समय प्रि(सिजन बिताएर म ठिक अवस्थामा आउन चाहन्छु,’ उनले भने।
उनले बार्सिलोनासँग खेल्न आतुर रहेकोसमेत बताए। ‘बार्सिलोनासँग कहिले खेल हुन्छ थाहा छैन। तर, बार्सिलोनासँग खेल्न पाउँदा राम्रो लाग्छ। आशा गरौं खेल भएको खण्डमा समर्थक पनि भएको अवस्था हुनेछ,’ उनले भने।
यता, क्लबका अध्यक्ष नासेर अल खलिफालेले मेस्सीलाई पीएसजीमा आबद्ध गरेर दशकअघिको लक्ष्य पुरा भएको बतए।
‘हामी आर्थिक रुपमा राम्रो स्थितिमा छौं। हामी सधैं नियममा रहेर नै काम गर्छों। मेस्सीको आगमनपछि हाम्रो सपना पनि पुरा भएको छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।