लियोनल मेसीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग दुई वर्षका लागि सम्झौता गरेका छन्। पीएसजीबाट उनले ३० नम्बरको जर्सी लगाएर खेल्ने छन्।
३४ वर्षीय स्टार फुटबलर मेसीसँग सम्झौता एक वर्षका लागि थप गर्नसक्ने विकल्प पनि छ। यसअघि उनले बार्सिलोनाका लागि मात्र व्यवसायिक फुटबल खेलेका थिए। उनले त्यहाँबाट १७ वर्ष व्यवसायिक फुटबल खेले।
बार्सामा १० नम्बरको जर्सी उनको पहिचान थियो। उनले झन्डै १२ वर्ष बार्साबाट उक्त नम्बरको जर्सी लगाएर खेले। तर, बार्साबाट सुरुवाती चरणमा भने ३० नम्बरकै जर्सी लगाएका थिए। सन् २००६/०७ को सिजनमा उनले १९ नम्बरको जर्सी लगाए। त्यति बेला रोनाल्डिन्होले बार्साका लागि १० नम्बरको जर्सी लगाउँथे। २००८/०९ को सिजनदेखि उनले १० नम्बरको जर्सीलाई आफ्नो ब्रान्ड बनाए।

अर्जेन्टिनाका लागि भने १० नम्बरको जर्सी लगाउनुअघि उनी १९ नम्बरको जर्सी लगाउँथे। २००६ को विश्वकपमा उनले १९ नम्बरको जर्सी लगाएका थिए। त्यति बेला अर्जेन्टिनाका लागि हुआँ रोमन रिक्वेल्मेले १० नम्बरको जर्सी लगाउँथे। सन् २०१० को विश्वकपमा भने उनी १० नम्बरको जर्सीमा मैदानमा देखिएका थिए। त्यस यता उनी आफ्नो देशका लागि पनि लगातार १० नम्बरकै जर्सीमा मैदान उत्रिने गरेका छन्।
पीएसजीमा १० नम्बरको जर्सी नेयमारले लगाउँछन्। उनले मेसीको सम्मानका लागि आफूले उक्त नम्बर दिन तयार रहेको जनाएका थिए। तर, मेसीले नेयमारको प्रस्ताव अस्वीकार गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।