सुनसरी– सुनसरी प्रहरीले एक महिनाको अवधिमा २३८ जना फरार प्रतिवादी पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा ५५ जना महिला र १८३ जना पुरुष रहेका छन्। विभिन्न मुद्दामा ५ दिनदेखि २० वर्षसम्म कैद सजाय तोकिएका प्रतिवादीहरुलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा कर्तव्य ज्यान, डाका, अपहरण तथा शरीर बन्धक जस्ता घटनामा संलग्न व्यक्तिहरु छन्। त्यसैगरी कुटपिट, चोरी, किर्ते, जालसाजी, लागूऔषध, ज्यान मार्ने उद्योग र भ्रष्टाचार जस्ता मुद्दामा सजाय पाइ फरार प्रतिवादी समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक सञ्जयसिंह थापाले बताए।
प्रहरीले पक्राउ परेकाहरुबाट ९ लाख ३५ हजार ३१९ रुपैयाँ जरिवाना असुल भएको जनाएको छ। प्रहरीले पक्राउ परेका सबैलाई अदालत बुझाएको जनाएको छ। सुनसरी प्रहरीका अनुसार जिल्लामा चार हजार २०० जना फरार प्रतिवादी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।