काठमाडौं– त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको समूह 'ए' को समूह विजेता बनेको छ। कीर्तिपुरस्थित टियू मैदानमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा आर्मीले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ७० रनले हराउँदै समूह विजेता बनेको हो। दुवै टिम यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।
वर्षाका कारण ४० ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ओपनर अनिल मण्डल र कप्तान विनोद भण्डारीको अर्धशतकको सहयोगमा इनिङको अन्तिम बलमा सबै विकेट गुमाउँदै २ सय २८ रन बनाएको थियो। मण्डलले ९९ बल खेलेर ७ चौकाको सहयोगमा ७२ रन जोडे। मण्डलले पहिलो विकेटका लागि सागर पुनसँग मिलेर ७७ तथा दोस्रो विकेटका लागि नरेश बुढाएरसँग मिलेर ८२ रनको साझेदारी गरेका थिए। सागरले ४६ तथा नरेशले ३७ रन बनाए।
कप्तान विनोदले फेरि एकपटक विस्टफोक पारी खेल्दै ५० रन जोडे। उनले २२ वलमा अर्धशतक पूरा गरेका थिए। अर्को बलमा बोल्ड भएका भण्डारीले ७ छक्का प्रहार गरे। आर्मीका अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्।
बलिङतर्फ एपिएफका भुवन कार्कीले ३ विकेट लिए भने करण केसी, कमलसिंह ऐरी, बसन्त रेग्मी र पृथु बास्कोटाले १–१ विकेट लिए ।
२ सय २९ रनको लक्ष्य पछ्याएको एपिएफ ३२.५ ओभरमा १५८ रनमै अलआउट भयो। एपीएफका रोहितकुमार पौडेलले बनाएको २८ रन टिमको व्यक्तिगत उच्च स्कोर रह्यो। उनका अलावा अनिल साहले २५, सुवास खकुरेलले २२, भुवन कार्कीले २६ र अमरसिंह रौटेलाले अविजित २७ रन बनाए।
एपिएफलाई सस्तैमा समेट्न आर्मीका सोमपाल कामीले ३ विकेट लिँदा शुसान भारी, सागर पुन र साहव आलमले २–२ विकेट लिए। आर्मीका अनिल मण्डल खेलको म्यान अफ द म्याच चुनिए।
पुलिस सेमिफाइनल नजिक
मूलपानी मैदानमा भएको खेलमा प्रदेश नम्बर ३ लाई ६ विकेटले पराजित गरेपछि नेपाल पुलिस क्लब सेमिफाइनल नजिक पुगेको छ । जित पछि पुलिसको ५ अंक भएको छ भने प्रदेश ५ र ७ को पनि समान ५ अंक छ। बुधबार हुने प्रदेश ५ र पुलिसबीचको खेलले सेमिफाइनल मा पुग्ने दुई टिमको टुंगो लाग्नेछ ।
बुधबारको खेलमा पुलिस वा प्रदेश ५ ले ठूलो अन्तरको जित हासिल गरेको खण्डमा प्रदेश ७ को पनि सेमिफाइनल पुग्ने सम्भावना कायमै छ । प्रदेश ७ ले समूह चरणका चारै खेल खेलिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।