इनरुवा– लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका पाँच जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले मंगलबार सार्वजनिक गरेको छ ।
इनरुवा–४ स्थित बसपार्कबाट सोमबार राति लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–१४ का २० वर्षीय अमोदकुमार यादव, सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–४ का २० वर्षीय इनरकुमार मुखिया, १९ वर्षीय रमेश मुखिया, सप्तरी रामपुर मलहनिया–१४ का २४ वर्षीय विनोदकुमार कामत र कार चालक तिलाठी कोलारी–४ का २२ वर्षीय फुलकुमार मुखिया रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।
विशेष सूचनाका अधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।
बा१४च ६१४५ नंको कारलाई जाँच गर्दा उनीहरुका साथबाट लागुऔषध ब्राउन सुगर एक सय ३० ग्राम फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। पक्राउ परेका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।