काठमाडौं- साफ च्याम्पियनसिप फुटबलको १३औं संस्करण माल्दिभ्समा आयोजना हुने पक्का भएको छ।
सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यकारी समितिको बैठकले प्रतियोगिता माल्दिभ्समा आयोजना गर्ने दिने निर्णय गरेको अखिल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए।
‘हामीले दाबी प्रस्तुत गरेसँगै साफले कोरोना महामारीको अवस्था बुझिरहेको थियो। माल्दिभ्समा ६० प्रतिशतभन्दा बढीले खोप लगाइसकेकाले त्यही प्रतियोगिता गर्न सुरक्षित हुने कुरा उठ्यो,’ उनले नेपाल लाइभसँग भने।
साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ सम्म आयोजना हुने तय छ।
१३औं साफमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने पक्का भइसकेको छ। प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोरोनाका कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नयाँ आयोजक राष्ट्र चयन गरिएको हो।
साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेस गरेको थियो। साफको लागि नेपाली टोलीले तयारी सुरु गरिसकेको छ। बन्द प्रशिक्षणमा ३७ खेलाडी रहेका छन्।
साफअघि नेपालले भारतसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० दुईवटा मैत्रीपूर्ण खेल खेल्दै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।