काठमाडौं– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गत वर्ष गएको पहिरोबाट विस्थापित भएका परिवारका लागि नेपाली सेनाले अस्थायी आवास निर्माण गरी हस्तान्तरण गरेको छ।
लिदीबाट विस्थापित भएकाहरुको लागि जुगल गाउँपालिका–१ बासखर्कमा ३१ वटा अस्थायी आवास भवन निर्माण गरिएको हो। सेनाले स्थानीय स्रोतसाधनसहित जस्ताको प्रयोग गरेर आवास भवन निर्माण गरेको हो। ३१ वटा आवास भवनका अतिरिक्त ७ वटा शौचालय, १ वटा बाथरुम (स्नान गृह), १ वटा स्वास्थ्य चौकी र १ वटा क्यान्टिन भवन निर्माण गरेको हो।
निर्माण सम्पन्नपश्चात आइतबार एक कार्यक्रमका बीच स्थानीयलाई भवन हस्तान्तरण गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ। आइतबार एक कार्यक्रमका बीच नम्बर २६ बाहिनी अड्डााका बाहिनीपति सहायक रथी बिष्णु राउतले जिल्ला विपत् व्यवस्थापन समिति र स्थानीय विपत् व्यवस्थापन समितिलाई संयुक्त रुपमा हस्तान्तरण गरे।
भवन हस्तान्तरण कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, जुगल गाउँपालीकाका अध्यक्ष, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेको सेनाले जानकारी दिएको छ।

३० साउन २०७७ मा गएको पहिरोमा पुरिएर लिदीमा ३९ जनाको मृत्यु भएको थियो। पहिरोका कारण २८ घरपरिवार पूर्ण रुपमा बिस्थापित भएका थिए।
विस्थापित भएकाहरुलाई पहिलो चरणमा आवास उपलब्ध गराउने र जोखिममा रहेका अन्यलाई क्रमश: अस्थायी घरहरु बनाउने योजनाअनुसार अस्थायी आवासका निर्माणका लागि सेनालाई जिम्मा दिइएको थियो।
आवास निर्माणबाट विपत्का कारण विस्थापित १ बर्षदेखि पालमा बसोबास गरिरहेका ३१ घर परिवारलाई केही राहत पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।