फाइल तस्बिर
काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणले बोर्डर आउट पोस्ट (बीओपी) संख्या ५०० पुर्याइने बताएका छन्। राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौंमा सञ्चालित सि.सं. १४(क) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा आइतबार उक्त कुरा बताएका हुन्।
सीमा सुरक्षार्थ सशस्त्र प्रहरी बल नेपालले २२६ वटा बीओपीहरु स्थापना गरी डेडिकेटेड फोर्सको रुपमा खटिरहेको बताउँदै भविष्यमा बीओपीको संख्या ५०० पुर्याउने उनले बताए। सशस्त्र प्रहरी बल नेपाललाई जनशक्ति एवं स्रोत साधन सम्पन्न बनाउन सरकारको तर्फबाट प्रतिबद्धता जनाउँदै थप व्यावसायिक, अनुशासित, इमान्दार र कर्तव्यनिष्ठ भइ कार्यसम्पादन गर्न राष्ट्रसेवकहरुलाई निर्देशन दिए।
गृहमन्त्री खाँणले उक्त तालिममा सर्वोत्कृष्ट भएकी सशस्त्र प्रहरी सहायक निरीक्षक चन्द्रा वलीलाई खुकुरी प्रदान गरेका थिए। उनले राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा खटिएर सीमा सुरक्षा तथा व्यवस्थापन, नागरिकको सेवा, विपद् प्रकोपमा परेकाहरुको उद्वार, कोभिड-१९ महामारी व्यवस्थापनका साथै राजस्व चुहावट नियन्त्रणलगायतका जिम्मेवारीमा सशस्त्र प्रहरी बल नेपालले उक्त कार्य गरेको बताए।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सिमित स्रोत साधनका बावजुद पनि सीमा नाका, नेपाल एपीएफ अस्पताललगायत सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण, विपद्जन्य घट्नामा पीडितको उद्धार तथा राहत वितरण र कोभिड-१९ महामारीको संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा निरन्तर सशस्त्रले उत्कृष्ट काम गरेको बताए।
गत साल भदौ २२ गतेबाट सञ्चालन भएको उक्त तालिम २० जना महिलासहित कुल ६१ जना सशस्त्र प्रहरी सहायक निरीक्षकले सफलतापूर्वक सम्पन्न गरेका छन्। उक्त तालिममा सहिष्णुतातर्फ सशस्त्र प्रहरी सहायक निरीक्षक वीरेन्द्रप्रसाद जोशी र कवाज तथा चाँदमारीतर्फ सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोषी महत उत्कृष्ट भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।