काठमाडौं- आसन्न साफ च्याम्पियनसिप र एसियन कप छनोटको तयारीमा रहेको राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण पोखरामा हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार टिमको प्रशिक्षण बुधबारबाट पोखरामा हुने जनाएको हो।
१० दिनको विश्रामपछि नेपाली टिमको प्रशिक्षण सुरु गर्न लागिएको हो। तर, प्रशिक्षणमा प्रकाश बुढाथोकी र एरिक विष्ट सहभागी नहुने भएका छन्। उनीहरूको स्थानमा शिशिर लेखी र सेसेहाङ आङदेम्बे सहभागी हुने छन्।
यस्तै, गोलकिपर विशाल सुनार सहभागी हुने भएका छन्। यता, मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने पोखरा पुगिसकेका छन्। एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसँगको विवाद समाप्त भएसँगै उनी 'फ्रेस' हुन पोखरा पुगेका हुन्। तर, प्रशिक्षक मैदानमा उत्रिने या नउत्रिने पक्का भइनसकेको एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए।
‘उहाँमाथिको छानबिन राष्ट्रिय खेलकुद परिषद्ले गरिरहेको छ। उहाँ प्रशिक्षणमा सहभागी हुने या नहुने भोलि थाहा हुन्छ,’ उनले भने।
साफ च्याम्पियनसिप आगामी अक्टोबरमा हुनेछ। साफ आयोजनाको लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेस गरेको छ।
साफ च्याम्पियनसिप अघि नेपालले दशरथ रंगशालामा भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने जनाइएको छ। नेपालले यस अगाडि नै ३६ सदस्यीय टोली घोषणा गरिसकेको छ।
बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु:
अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरणकुमार लिम्बू, आशिष लामा, अभिषेक रिजाल, अनन्त तामाङ, अन्जन विष्ट, शिशिर लेखी, आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङदेम्बे, पुजन उपरकोटी, रजिन धिमाल, राजिव लोप्चन, रन्दीप पौडेल, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, तेज तामाङ, त्रिदेभ गुरुङ, विक्रम लामा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।