मुम्बई– भारतीय राष्ट्रिय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले भारतको अन्तर्राष्ट्रिय फुटबल खेल हेर्न दर्शकलाई अपिल गरेपछि सोमबार केन्यासँग भएको खेलमा सबै टिकट बिक्री भएका छन्।
इन्टरकन्टिनेन्टल कपअन्तर्गत चाइनिज ताइपेहविरुद्धको खेल हेर्न प्याराफिटमा २५ सय मात्र दर्शक उपस्थित भएपछि कप्तान क्षेत्रीले सामाजिक सञ्जाल ट्विटरमा एक भिडियो पोष्ट गर्दै अन्य खेलजस्तै फुटबललाई पनि समर्थन गरिदिन आग्रह गरेका थिए।
शुक्रबार मुम्बईमा भारतले ५–० गोल अन्तरले पराजित गरको चाइनिज ताइपेहविरुद्धको खेल हेर्न जम्मा २ हजार ५ सय ६९ दर्शक मात्र रंगशालामा उपस्थित थिए।
सोमबार मुम्बई फुटबल एरिनामा भएको केन्याविरुद्धको खेलमा पनि भारत विजयी भयो। ३–० ले विजयी भएको उक्त खेलमा कप्तान क्षेत्री एकलैले २ गोल गरेका थिए। चाइनिज ताइपेहविरुद्धको खेलमा भने कप्तान क्षेत्रीले ह्याट्रिक गरेका थिए। केन्याविरुद्धको खेल क्षेत्रीको १ सयौं अन्तर्राष्ट्रिय खेलसमेत थियो।

सो खेलका लागि खुल्ला गरिएको सबै ७ हजार टिकट बिक्री भएपछि कप्तान क्षेत्रीले भारतको विजयलाई दर्शकमाथि नै समर्पित गरेका छन्। जितपछि ट्विट गर्दै उनले सहयोग र समर्थनका लागि सबै फुटबल प्रशंषकलाई धन्यवादसमेत दिएका छन्।
भारत विजयी भएको तथा क्षेत्रीले १ सयौँ अन्तर्राष्ट्रिय खेल खेलेकोमा मास्टर ब्लास्टर सचिन तेन्दुलकर, भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली, क्रिकेटर सुरेश रैना तथा फुटबल प्रशंषकहरुले बधाई दिएका छन्।

जीतसँगै भारत अंकतालिकाको शिर्ष स्थानमा छ। प्रतियोगितामा भारतसहित केन्या, चाइनिज ताइपेह र न्युजिल्यान्ड सहभागी छन्। फिफा बरियताको हालसम्मकै उत्कृष्ट ९७औँ स्थानमा रहेको भारतले पछिल्ला १६ अन्तर्राष्ट्रिय खेलमा १३ मा जित हात पारेको छ। सन् २०१५ मा बरियताको १ सय ६६औँ स्थानमा रहेको भारतले पछिल्ला ३ वर्षमा आफ्नो खेलमा निकै सुधार गरेको पाइन्छ।
खेलमा सुधार गरेपनि भारतको खेल हेर्न रंगशालामा भने दर्शकको न्युन उपस्थिती रहने गरेको छ। भारतमा क्रिकेट खेल निकै प्रसिद्ध छ। जसकाकारण फुटबल तथा हक्की छायाँमा पर्ने गरेको बताइन्छ।
यही सिलसिलालाई चिर्नका लागि पनि कप्तान क्षेत्रीले ट्विटमार्फत अन्य खेलहरुलाई पनि प्रोत्साहन गर्न दर्शकहरुसँग अपिल गरेका हुन्। उनले ट्विटमा लेखेका थिए,‘कृपया आउनुहोस् र हामीलाई समर्थन गर्नुहोस्। हामीलाई हौसला प्रदान गर्नुहोस्। गाली गर्नुहोस्। आलोचना गर्नुहोस्। भारतीय फुटबललाई तपाईंको खाँचो छ। केवल इन्टरनेटमा मात्र हेरेर हामीलाई गाली नगर्नुहोस्। रंगशालामा आएर हाम्रो बारेमा भन्नुहोस्।’
क्षेत्रीको अपिलपछि भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले पनि भिडियो सन्देशमार्तफ सवै खेललाई उतिकै समर्थन गर्न भारतीय समर्थकलाई आह्वान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।