काठमाडौं- लियोनल मेसीले आइतबार बार्सिलोना र क्लबका समर्थकसँग औपचारिक रुपमा बिदा लिने भएका छन्। भोलि पत्रकार सम्मेलनमार्फत् उनले बिदा लिनेछन्।
बार्सिलोनाबाट २१ वर्षपछि विदाइ हुन लागेका मेसी पहिलोपटक सार्बजनिक प्रतिक्रिया दिन लागेका हुन्। गत सिजनको अन्त्यसँग मेसीको सम्झौता सकिएको थियो। नयाँ व्यवस्थापन आएसँगै उनी बार्सिलोनामा बस्ने अपेक्षा गरिएको थियो।
तर,आर्थिक रुपमा निकै घाटामा रहेको बार्सिलोनाले मेसीलाई अनुबन्ध गर्न सकेन भने ला लिगाको नियम पनि बाधक बनिदियो। सिनियर टोलीमा १७ र समग्रमा २१ वर्षपछि मेसीले बार्सिलोना छाड्न लागेका हुन्।
पत्रकार सम्मेलनमा उनी परिवारका केही सदस्यका साथ उपस्थित हुने बताइएको छ। आइतबार नै बार्सिलोना र युभेन्ट्सबीच हुने जोन गाम्पर ट्रफीमा मेसीले लाउने गरेको १० नम्बर जर्सी कसैले लगाउने छैनन्।
पीएसजीसँग ३ वर्षको सम्झौता गर्ने तयारी
पेरिस सेन्ट जर्मेन (पीएसजी) का मालिकका भाइ खालिद बिन हमद बिन खलीफा अल-थानीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै मेसीसँग कुराकानी पूरा भएको र चाँडै यसबारे औपचारिक घोषणा हुने दाबी गरेका छन्।
बार्सिलोनाबाट मेसीको बर्हिगमन पुष्टि भएसँगै अर्जेन्टिनी खेलाडीलाई भित्र्याउन पीएसजीले प्रक्रिया थालिसकेको थियो। फ्रान्सेली पत्रिका इल इक्यिुपेले मेसी र पीएसजीबीचको नयाँ सम्झौताको खुलासा समेत गरिसकेको छ। समाचारमा मेसीका लागि क्लबले तीन वर्षको सम्झौता तयार गरिसकेको उल्लेख छ।
जसअनुसार मेसीले वार्षिक ४ करोड युरो तलब बुझ्नेछन्। यता उनका साथी नेयमारले ३ करोड ५० लाख वार्षिक तलब बुझ्दै आएका छन्।
‘फ्रान्सेली क्लबले विगतमा जुन तलब दिने इच्छाशक्ति देखाएको थियो, त्यसको दाँजोमा यो थोरै कम हो,’ एल इक्विपेले लेखेको छ, ‘तर यो मेसीको माग सुहाउँदो छ। सम्झौताका लागि आइतबार मेसीका प्रतिनिधि र क्लबका अधिकारीबीच छलफल हुँदैछ।’
च्याम्पियन्स लिग जित्ने अभियानमा लागेको पीएसजीले यस समरमा अचरफ हाकिमी, जर्जिनो वाइनाल्डम, सर्जियो रामोस र जियानलुइजी डोन्नररुम्मालाई क्लबमा अनुबन्ध गरिसकेको छ।
विश्व चर्चित खेलाडीहरु क्लबमा भित्र्याएको पीएसजीले यसपटक च्याम्पिएन्स लिगको उपाधी उचाल्ने लक्ष्य लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।