Photo : Reuters / Amr Abdallah Dalsh
काठमाडौं- टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलतर्फको कास्य पदक मेक्सिकोले जितेको छ। तेस्रो स्थानका लागि शुक्रबार भएको खेलमा मेक्सिकोले जापानकोलाई ३-१ गोलले पराजित गरेको हो।
साइतामा रंगशालामा भएको खेलमा मेक्सिकोका लागि फ्रान्सिस्को कोर्डोभा, जोहान भास्क्वेज र अर्नेस्टो भेगाले गोल गरे। जापानका कोरु मिटोमाले एक गोल फर्काए।
खेलको १३औं मिनेटमै फ्रान्सिस्कोले पेनाल्टीमा गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए।
३३औं मिनेटमा भास्क्वेजले गोल गर्दै मेक्सिकोको अग्रतादोब्बर पारे। ५८औं मिनेटमा भेगाले गोल गर्दै अग्रता ३-० बनाए।
७८औं मिनेटमा जापानका लागि मिटोमाले सान्त्वना गोल फर्काए। सन् २०१२ मा लण्डन ओलम्पिकमा स्वर्ण जितेको मेक्सिको यसपटक सेमिफाइनलमा ब्राजिलसँग पराजित भएको थियो।
यता, घरेलु टोली जापान भने स्पेनसँग सेमिफाइनलमा पराजित भएको थियो। पुरुष फुटबलको स्वर्णको लागि ब्राजिल र स्पेनबीच शनिबार प्रतिस्पर्धा हुनेछ।
यस्तै, महिलातर्फ स्वर्ण पदकका लागि शुक्रबारै क्यानडा र स्वीडेनबीच फाइनल खेल हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।