काठमाडौं- आसन्न साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली पुरुष टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्न चार राष्ट्रले प्रस्ताव गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले प्यालेस्टाइनसहित चार राष्ट्रले मैत्रीपूर्ण फुटबल खेल्नका लागि प्रस्ताव गरेको जानकारी दिएका हुन्।
‘प्यालेस्टाइन, भारत र बंगलादेशले काठमाडौं आएर मैत्रीपूर्ण खेल खेल्न प्रस्ताव गरेका छन्। यता, कीर्गिस्तानले पनि नेपालसँग मैत्रीपूर्ण खेल खेल्नका लागि आमन्त्रण गरेको छ,’ उनले नेपाल लाइभसँग भने।
गत १५ साउनमा बसेको एन्फा कार्यसमिति बैठकले साफको तयारीमा रहेको रहेको टोलीलाई बंगलादेश, भारत, सिंगापुरको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेलाउनका लागि पत्रचार भइरहेको जनाएको थियो।
महासचिव तुलाधरका अनुसार कीर्गिस्तानले भने कोरोना महामारीको जोखिम रहेको भन्दै नेपाल आउन अस्वीकार गरेको छ।
‘कीर्गिस्तानले उसैको घरेलु मैदानमा खेल्न प्रस्ताव गरेको हो। त्यहाँ प्यालेस्टाइन पनि आउन तयार छ। बंगलादेश र भारत त्यहाँ जाने छैन। यस बिषयमा छलफल भइरहेको छ,’ उनले भने।
नेपालले गत चैतमा आयोजना गरेको ‘थ्री नेसन्स कप’मा कीर्गिस्तानको यू-२३ टोली र बंगलादेशले सहभागिता जनाएको थियो। दशरथ रंगशालामा सम्पन्न उक्त प्रतियोगितामा फाइनलमा बंगलादेशलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको थियो।
‘कोरोना महामारीको समय छ। यस्तो बेला कसरी खेल खेलाउने भन्ने विकल्प खोजिरहेका छौं। छलफल गरेर केही दिनमा फाइनल गर्छौं। यो प्रस्ताव अहिलेसम्म ड्राफमा छ,’ तुलाधरले भने।
यद्यपी, राष्ट्रिय टोली कीर्गिस्तान गएको खण्डमा नेपालमा मैत्रीपूर्ण खेल आयोजना गर्न सम्भव हुने छैन। ‘फिफा म्याच डे’ २० अगष्टदेखि १ सेप्टेम्बरसम्म मात्र भएको कारण दुई राष्ट्रसँग खेल खेल्न पाइने छ।
‘फिफा म्याच डेका कारण चारै राष्ट्रसँग खेल खेल्न सम्भव छैन। तर, साफ अगाडि दुई राष्ट्रसँग चाँहि खेल्छौं। काठमाडौंमा सम्भव भए यहीँ र कीर्गिस्तानमा सम्भव भए त्यहीँ खेल्छौं,’ उनले भने।
यता, एन्फाले कतारसँग पनि खेल्न प्रस्ताव गरेको छ। तर, यो ‘म्याच डे’मा कतारसँग मैत्रीपूर्ण खेल नहुने महासचिव तुलाधरले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।