काठमाडौं- युरोपेली च्याम्पियन चेल्सीले आफ्नो पूर्वफरवार्ड रोमेलु लुकाकुलाई फिर्ता बोलाउने भएको छ। ७ वर्षअघि चेल्सी छाडेका लुकाकुलाई अनुबन्ध गर्न चेल्सीले प्रक्रिया थालेको हो।
इटालियन च्याम्पियन इन्टर मिलानका २८ वर्षीय फरवार्ड लुकाकु पछिल्लो समय उच्च लयमा छन्। युरोकप २०२० मा पनि बेल्जियमका लागि राम्रो खेल प्रदर्शन गरेपछि चेल्सीले उनलाई फर्काउने कोसिस थालेको हो।
चेल्सीले गत साता उनलाई अनुबन्ध गर्न ८५ मिलियन पाउण्डको प्रस्ताव मिलानसँग राखेको थियो। लुकाकुले यसअघि आफू इन्टरमा नै खुसी रहेको बताएका थिए।
आकर्षक प्रस्तावसँगै उनको ट्रान्सफरको सम्भावना रहेको बताइएको छ। तर, मिलानले उनलाई पूर्वक्लबमा फर्कन नदिने जनाएको छ।
सन् २०११ मा चेल्सीमा अनुबन्धित भएका उनले सिनियर टोलीमा अवसर नपाएपछि क्लब छाडेका थिए।
सन् २०१४ मा चेल्सीबाट लुकाकुलाई १५ खेल खेलेका थिए। त्यसपछि उनी एभर्टन गएका थिए। उनी २०१७ मा ७५ मिलियन पाउण्डमा म्यानचेस्टर युनाइटेड पुगे।
युनाइटेडमा दुई सिजन बिताएपछि उनी मिलान पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।