काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित २ जना पक्राउ परेका छन्। वैदेशिक रोजगारीमा गएर फर्किने नेपालीलाई प्रयोग गरी सुन तस्करी गर्ने २ जनालाई पक्राउ गरिएको प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ।
पक्राउ पर्नेमा सिरहाको धनगढीमाइ नगरपालिका–८ घर भएका रिसब महतो र खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १३ स्थायी भइ काठमाडौंको तिलगंगामा खोटाङ गेस्ट हाउस नामक होटेल सञ्चालन गर्दै आएका ४१ को अम्बर चाम्लिङ छन्।
बिहीबार बिहान विमानस्थलको नयाँ पार्किङ क्षेत्रमा शंकास्पद रुपमा उभिएको अवस्थामा प्रहरी रिसब महतोलाई पक्राउ गरेको थियो। प्रहरीले उनको साथबाट सुनको बाला ८ थान र औंठी २ थान गरी ४७४ ग्राम सुन बरामद गरेको थियो।
अनुसन्धानका क्रममा रिसबले वैदेशिक रोजगारीबाट फर्किने नेपालीलाई प्रयोग गरी भन्सार छली गरेर सुन तस्करी गराउने गरेको खुलेको थियो। सुन तस्करीमा तिलगंगास्थित खोटाङ गेस्ट हाउसका सञ्चालक चाम्लिङको समेत मिलेमतो रहेको भन्ने खुलेकोमा उनलाई पनि पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ।
पक्राउ परेका दुवै जनालाई बरामद सुनसहित थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।