काठमाडौं– काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला यतिबेला धमाधम मर्मत भइरहेको छ। २०७२ सालको भूकम्पले थलिएपछि देशको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला जिर्ण बनेको थियो।महिनौंपछि भएको ‘टेस्ट’ले भिआईपी प्यारापिटतर्फ छानो र सामान्य प्यारापिटतर्फको तल्लो भाग भत्काएर अर्को बनाउनुपर्ने सुझाव दिएको थियो।
भूकम्पले असर गरेपछि विगत तीन वर्षयता दशरथ रंगशालामा कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सकेको छैन। घरेलु फुटबल प्रतियोगिता समेत यहाँ आयोजना भएको छैन।
‘भिआइपी प्याराफिटको छानोमा ‘क्र्याक’ देखियो। त्यत्तिकै छाड्दा दुर्घटना हुनसक्ने भएकाले त्यो छानो झिकेर रेट्रोफिटिङसहित अर्को छानो राख्दै छौं।’, राष्ट्रिय खेलकुद परिषद्को भौतिक पुर्वाधार निर्माण शाखा प्रमुख अरुण उपाध्यायले भने।

रंगशाला मर्मतका कारण यतिबेला एसियन गेम्स (एसियाड)को तयारी लगनखेलस्थित आर्मीको मिनी रंगशाला, सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरलगायत विभिन्न ठाउँमा भइरहेको छ।
आगामी फेब्रुअरीसम्म रंगशाला तयार गर्रे गरी अहिले मर्मत कार्य द्रुत गतिमा भर्इरहेको परिषद्ले जनाएको छ। नेपालमा आगामी चैतमा १३औं दक्षिण एसियाली खेलकुद(साग) हुने भएकाले त्यसलाई मध्यनजर गर्दै रंगशाला मर्मतको कामलाई तिव्र बनाइएको हो।
१३औं सागको उद्घाटन दशरथ रंगशालामा गर्ने तयारी छ। फुटबल र एथ्लेटिक्सका खेलहरु दशरथ रंगशालामै हुने छन्। प्रतियोगिताको समापन पनि दशरथ रंगशालामै गर्ने तयारी छ। नेपालले अन्तिम पटक सन् १९९९ मा साग(आठौं संस्करण) आयोजना गरेको थियो। नेपालले तेस्रो पटक सागको आयोजना गर्न लागेको हो।

सन् १९८३ मा आयोजित प्रथम साग (तत्कालिन साफ गेम्स) पनि नेपालले आयोजना गरेको थियो। भौतिक पुर्वाधारलाई नै साग आयोजनाको प्रमुख चुनौती मान्दै खेलकुद परिषद्ले पछिल्लो समय भौतिक पुर्वाधार निर्माण र तयारीलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ।
देशकै प्रतिष्ठाको विषय भएकाले १३औं सागको तयारीमा कुनै कमी नगरेको राखेप सदस्यसचिव केशव विष्टले बताए। ‘साग आयोजना देशकै प्रतिष्ठाको विषय हो। यसलाई अधिकतम भव्य बनाउने हाम्रो प्रयास छ। यतिबेला हामी भौतिक पुर्वाधारको तयारीमा जुटिरहेका छौं। विषेशगरी दशरथ रंगशालाको तयारी नै चासोको विषय हो।’, सदस्यसचिव विष्टले भने, ‘हामी हरेक हप्ता प्रगति विवरण मागिरहेका छौं र चित्त नबुझे स्पष्टीकरण पनि सोध्छौँ। यसरी काम अगाडि बढ्ने हो भने हामीले तोकेको समय अघि नै रंगशाला तयार गर्छौँ।’
१३औं साग अघि चीन सरकारले दशरथ रंगशालाको फोर्ड लाइट, ट्रयाक, सिन्थेटिक ट्रयाक र साउन्ड सिस्टम मर्मत गरिदिने छ। चीन सरकारकै सहयोगमा यतिबेला सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा लाइट, सुटिङ रेन्जलगायत बनाउने काम भइरहेको छ।

नेपाली खेलकुदको इतिहास जोडिएको दशरथ रंगशालामा पीएस, प्रतिष्ठा, किराँतेश्वर गरी तीन वटा ठेक्केदार कम्पनीले संयुक्तरुपमा साधारण प्याराफिटको तल्लो भाग बनाउने र भिआईपी प्यारापिटको रेट्रो फिटिङ गर्ने काम गरिरहेका छन्। भ्याटबाहेक १९ करोड २६ लाख ७२ हजार रुपैयाँ ठेक्कामा उनीहरुले यो काम गरिरहेका हुन्।
भूकम्प जाँदा रंगशालामा पूर्व निर्धारित कार्यक्रमअनुसार साधारण प्याराफिटमा सिट बिछ्याउने काम सम्पन्न भएर रेट्रो फिटिङसहित छाना लगाउने काम चलिरहेको थियो। तर भूकम्पले साधारण प्याराफिटतर्फको तल्लो प्याराफिटको केही भाग भत्काएपछि समस्या उत्पन्न भएको थियो। ‘रेट्रो फिटिङसहित पिलर उठाएर बनाएकाले माथिको भागमा केही भएन। तर तल्लो भाग वाल उठाएर बनाएकाले समस्या आयो। अब पिलर उठाएर प्यारापिट बनाउन काम गर्दै छौं।’, राखेपका भौतिक पुर्वाधार निर्माण शाखा प्रमुख उपाध्यायले भने।

राखेप स्रोतका अनुसार भिआईपी प्यारापिटको छानो भत्काउन मात्र भ्याटबाहेक १ करोड ६ लाख रुपैयाँ लागेको छ। उपाध्यायले कसरी र कुन उपाय लगाएर भत्काउने भन्ने निर्णय गर्न समय लागेकाले भूकम्पपछि काम गर्न विलम्ब भएको बताए। भत्काउँदा अन्य भाग र क्षेत्रलाई असर नपुर्याई काम गर्नुपर्ने उनको भनाइ छ।
‘टेस्ट, टेन्डरलगायत प्राविधिक कारणले गर्दा जति चाँडो तयार हुनुपर्ने हो। त्यो समयमा हुन नसकेको हो। तर अहिले हामी सहज अवस्थामा छौं।’, उपाध्यायले भने।
भूकम्पले त्रिपुरेश्वरमा रहेको सदस्यसचिव बस्ने भवन, छात्राबास भवन लगायत पनि बस्नै नमिल्ने गरी चर्किएका थिए। ती भवनमा बस्ने कर्मचारी अहिले रंगशालाको साधारण प्यारापिटतर्फ रेट्रोफिटिङ गरेको भागमुनी र अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बसेर काम गरिरहेका छन्। प्रशासनिक भवन बनाएर उनीहरुलाई रंगशालाको ती भागबाट सार्ने तयारी राखेपको छ।

सदस्यसचिव विष्टले दशरथ रंगशाला नेपाली खेलकुदको इतिहास भएकाले जतिसक्दो चाँडो खेलाडीले यहाँ खेल्न र तयारी गर्न पाउने बताए।
‘भौतिक पुर्वाधार हाम्रा पहिचान र क्षमताका विषय हुन्। यसमा खेलाडी र खेलको मिहिनेत, पसिना र इतिहास जोडिएको हुन्छ। दशरथ रंगशाला, रंगशाला मात्र होइन नेपाली खेलकुदको इतिहास हो। यसलाई बलियो, राम्रो र दिगो बनाउन हामी गम्भिर छौं।’, सदस्यसचिव विष्टले भने। अब मर्मत गरेपछि रंगशाला थप कम्तिमा ४० वर्ष टिक्ने राखेपका इन्जिनियरहरु बताउँछन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।