काठमाडौं– सिल्भर रङको पेन्ट दलेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुन तस्करी भएको पाइएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (महानगरीय अपराध महाशाखा)ले सिल्भर रङको पेन्ट दलेको अवस्थामा १ किलो ८६६ ग्राम सुन बरामद गरेपछि उक्त प्रकरण बाहिरिएको हो।
विमानस्थल प्रयोग गरी विभिन्न देशबाट भन्सार छली सुन नेपाल भित्रने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले तीन जनालाई सुनसहित पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा भारत राजस्थान नागौर छोटिखाटु थाना, सेरानी आवादका २७ वर्षीय साकिर अली, सोही ठाउँका २८ वर्षीय अब्दु सतार र २४ वर्षीय प्यार मोहम्मद रहेको अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए।
उनीहरुलाई बुधबार बिहान सिनामंगलस्थित मिर्चैया मल्हनिया गेस्ट हाउसको कोठा नम्बर २०२ बाट प्रहरीले पक्राउ गरेको हो। उनीहरु बसेको कोठा खानतलासी गर्दा सुटेकशभित्र लुकाएर राखेको अवस्थामा सुन फेला परेको हो। प्रहरीले उनीहरुको साथबाट भारतीय रुपैयाँ १ लाख ५ हजार ५ सय पनि बरामद गरेको छ।
अनुसन्धानका क्रममा वैदेशिक रोजगारीबाट नेपाल फर्कने व्यक्तिलाई प्रयोग गरी उनीहरुले सुन ल्याउन लगाएको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।