काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उपयुक्त ठाउँमा जिम्मेवारी पाए आफू पद छाड्न तयार रहेको बताएका छन्। तर, सरकारबाट राजीनामा दिन निर्देशन नआएको उनले प्रस्ट पारे।
मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले शाक्यलाई राजीनामा गराएर कुलमान घिसिङलाई प्रमुख कार्यकारी निर्देशक नियुक्त गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिएको जानकारी प्रधानमन्त्रीको सचिवालयले दिएको थियो। प्रधानमन्त्रीको निर्देशनअनुसार मन्त्री भुसालले शाक्यलाई राजीनामा दिन आग्रह गरेको बताइएको थियो।
शाक्यले आज पत्रकारहरुसँग कुरा गर्दै आफूलाई राजीनामा दिन निर्देशन नआएको बताएका हुन्। उनले सम्मानजनक तरिकाले अर्को उपयुक्त स्थानमा जिम्मेवारी दिए पाद छाड्न तयार रहेको बताए। तर, अपमानजनक ढंगबाट हटाउन खोजे अदालतमा जाने उनको भनाइ छ।
'मेरो क्षमता अनुसारको उपयुक्त स्थानमा जिम्मेवारी दिए काम गर्न तयार छु,' प्रमुख कार्यकारी निर्देशक शाक्यले भने, 'तर, प्राधिकरणमा कामै गर्न नसकेको भनेर हटाउन खोजे अदालतमा जान्छु।' प्राधिकरणमा आफूले सकेसम्म राम्रो काम गरेको उनले बताए। उनले आफू अर्को जिम्मेवारीमा रहेर पनि सरकारलाई सहयोग गर्न तयार रहेको र त्यसका लागि सरकारसँग पर्याप्त विकल्प रहेकोसमेत बताए।
केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारबाट नियुक्ति पाएका शाक्यलाई कार्यसम्पादन राम्रो नभएको भन्दै कार्यकारी निर्देशकबाट हटाउने तयारी गरिएको ऊर्जा मन्त्रालय स्रोतको भनाइ थियो। ओली सरकारले घिसिङको कार्यकाल सकिएको झण्डै पाँच महिनापछि २७ माघ २०७७ मा सरकारले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।