काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागेका छन्। आफ्नो अभिव्यक्तिलाई दिएर विवाद भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् माफी मागेका हुन्।
केही समय अघि सञ्चारमाध्यममा दिएको अन्तर्वार्तामा उनले नेपालमा खेलाडीसँगै खेलकुद पदाधिकारीहरुको मानसिकता पनि परिर्वतन हुनुपर्ने अभिव्यक्ति दिएकका थिए।
त्यसपछि मुख्य प्रशिक्षक अलमुताइरीले यसरी बोल्नु अनुशासन उल्लंघन भएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ लगायतले कारबाहीको माग गरेका थिए।
आफूले नेपाली राष्ट्रिय टिम र पूर्वखेलाडी तथा प्रशिक्षकहरुको विषयमा बोल्दा कतिपयलाई चोट पुगेको स्वीकार गर्दै आफ्नो मनसाय कसैलाई चोट पुर्याउने नरहेको उनले बताएका छन्।
‘मैले पछिल्लो तीन दशकमा नेपाल र अरु एसियाली देशको फुटबल कसरी विकास भएको छ भन्ने मात्र बताउन खोजेको थिएँ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरा शुभेच्छुक र फुटबललाई माया गर्ने परिवारसँग छलफल गर्दा मेरो भनाइको गलत अर्थ लागेको महसुस भएको छ। त्यसप्रति म क्षमा चाहन्छु।’
आफूले कोही कसैप्रति पनि गलत नियत नराखेको बताउँदै नेपाली टिमले अझै लामो सफर तय गर्नेमा आफू आशावादी रहेको पनि उनले उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।