काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा तुइनबाट तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका व्यक्तिको सम्बन्धमा छानबिन समितिको प्रतिवेदन अनुसार सरकारले आवश्यक निर्णय लिने बताएका छन्।
सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै गृहमन्त्री खाँडले यस घटनाको सम्बन्धमा छानबिन समिति गठन गरिसकिएको र छानबिन समितिको प्रतिवेदन आउनु अघि सरकारले कुनै राय दिन नमिल्ने बताए।
उनले प्रतिवेदनको आधारमा सरकारले निर्णय लिने बताए। ‘हामी आफैंले छानबिन समिति बनाइरहेको अवस्थामा छानबिनमा प्रभाव पार्नेगरी हामीले आफ्नो कुनै राय दिन मिलेन। छानबिनबाट प्रतिवेदन आइसकेपछि घटनाको सत्यतथ्य प्रतिवेदन आइसकेपछि त्यो प्रतिवेदनमा उल्लेख भएका कुराहरुको लागि हामी जुनसुकै अडान लिनपनि तयार छौँ। र त्यसका लागि आवश्यक पहल गर्ने, निर्णय गर्ने र आफ्ना धारणा सार्वजनिक गर्ने र अगाडि बढ्न गृह मन्त्रालय र नेपाल सरकार प्रतिवद्ध रहेको म अवगत गराउन चाहन्छु’बैठकमा उनले भने।
व्यास गाउँपालिका वडा नं. २ का जयसिंह धामीको तुइन तर्ने क्रममा महाकाली नदीमा झरी बेपत्ता भएको घटना दु:खद् र संवेदनशील रहेको गृहमन्त्री खाँडको भनाइ थियो। उनले सोही दिन गृहमन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट उक्त घटनाको सम्बन्धमा बास्तविक सत्यतथ्य छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल गण ४४, प्रहरी नायब उपरीक्षक विजयसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्द, र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रमसिंह ढाँडसहित ३ जनाको टोली अनुसन्धानका लागि घटनास्थलमा खटिएको बताए।
त्यस्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढस्थित जिल्लाधिकारीलाई उक्त घटनाको सम्बन्धमा ध्यानाकर्षण गराउँदै पत्राचार गरेको पनि उनले जानकारी दिए। जयसिंह धामी भन्दा अगाडी उक्त स्थानको तुइन तरि भारततर्फ पुगेका बहादुरसिंह धामी, अमरसिंह धामी, गौरसिंह धामी र मणिराम सिंह धामीसँग सोधपुछ भइरहेको तथा तुइन तर्न बाँकी अनिता धामी, विक्रम राम कोली र कल्याण धामीलाई बुझ्नको लागि जिल्ला सदरमुकाम बोलाइएको उनले जानकारी दिए। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षाका पाँच वटा बेसबाट खोज तलासको काम भइरहेको र बैतडी र कञ्चनपुर जिल्लाको स्थानीय तहबाट पनि खोज तलासमा समन्वय गर्ने काम भइरहेको उनले बताए।


त्यस्तै गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुत्तराज थापा, जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीसमेत ५ जना रहने गरी स्थलगत रुपमा सत्यतथ्य छानबिन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्ने गरी छानबिन समिति गठन गरी घटनास्थल तर्फ पठाइसकिएको उनले बताए।
गृहमन्त्री खाँडले धनुषा जिल्ला प्रहरी कार्यालयमा बन्दी पल्टुदासको साउन १५ गते मृत्यु भएको घटनाको पनि गम्भिरतापूर्वक छानबिन भइरहेको बताए।
उनले यस वर्ष विपतबाट सिन्धुपाल्चोक, मनाङ, गोरखा, लमजुङ, कास्की लगायत ५५ जिल्ला प्रभावित भएको जानकारी दिए। मनसुनजन्य विपतका कारण हालसम्म ६७ जनाको मृत्यु, ४० जना बेपत्ता र ८१ जना घाइते भएका उनले जानकारी दिए। विभिन्न ४० जिल्लामा ६ १९ नीजि घर पूर्ण क्षति, १६२ वटा घरमा आंशिक क्षति भएको पनि उनले जानकारी दिए।
असार १ गते मेलम्ची, इन्द्रावती , याङ्ग्री र लार्केमा आएको बाडीमा परि ५ जना मृत्यू, २० बेपत्ता र ६ जना घाइते भएको खाँडले जानकारी दिए। ३३८ घर पूर्ण रुपमा क्षति भएको, ७ वटा पुल, १४ वाट झोलुंगे पुल, १ वटा माछा फार्म र ३२ वटा सरकारी भवन र मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको उनको भनाइ छ। उक्त क्षेत्रमा पुननिर्माणका विभिन्न कामहरु सुरु हुन लागको गृहमन्त्री खाँडको भनाइ छ।
गृहमन्त्री खाँडले प्राकृतिक विपतिबाट केही असहजता देखिएको भन्दै ति चुनौती सामना गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताए। जनताको जीवन रक्षाको लागि सरकार प्रतिवद्धतापूर्वक अगाडी बढ्ने पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।