पोखरा– खाजा पसलमा यौन व्यवसाय गराएको आरोपमा कास्की प्रहरीले पोखराबाट २ जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका-१२ अमरसिंह चोकस्थित एसके खाजाघरका २ जना संचालकलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१० घर भइ अमरसिंहचोक बस्ने ५३ वर्षीया सोनाम गुरुङ र पोखरा -२७ रिठ्ठेपानी घर भएका ३२ वर्षीय रोशन गुरुङ रहेका छन् ।
राम्रो काममा लगाइदिन्छु भन्दै महिलाहरुलाई ललाइ फकाइ तथा डरत्रासमा समेत पारेर यौन व्यवसायमा लगाउने गरेको भन्ने सूचना एवम् उजुरीको आधरमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरुले खाजा घरबाट नै यौन व्यवसाय चलाउँदै आएका थिए।
खाजा घरबाट केही महिलाको समेत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। खाजाघरबाट उद्धार गरिएका पीडित महिलाहरुलाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाएको प्रहरीको भनाइ छ।
पक्राउ परेका दुवै जनाविरुद्ध मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।