काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले पदबाट राजीनामा दिएका छन्। सोमबार अध्यक्ष कर्माछिरिङ शेर्पालाई उनले राजीनामा बुझाएका हुन्।
प्रवक्ता राईले आजै अपरान्ह ३ बजे एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दैछन्।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले वरिष्ठ उपाध्यक्ष पंक्रजविक्रम नेम्वाङले नाटक गरेको भन्दै सामाजिक सञ्जालमार्फत् राजीनामाको घोषणा गरेको घटनाबाट प्रवक्ता राई रुष्ट थिए।
उनले शनिबार राति फेसबुकमा स्टेटस लेख्दै प्रवक्ताको जिम्मेवारी त्याग्ने संकेत गरेका थिए।
‘म मर्छु होला बरु, तर फुटबल खेलको राष्ट्रिय तथा अन्तररास्ट्रिय मान्यता र सिद्वान्तविरुद्ध पाइला चाल्न सक्दिनँ,’ उनले लेखेका छन्, ‘नेपाली गरीब भएको प्रचार गरेर सहयोग प्राप्त भयो भन्दैमा सबै मान्यता र स्वाभिमान नै झुक्ने गरि सम्झौता गर्न मिल्ला र?’
राईले आइतबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने जानकारीसमेत दिएका थिए। तर, एक घण्टा अगाडि पुनः सूचना दिएर कार्यक्रम स्थगित भएको जानकारी दिएका थिए।
यद्यपि, शनिबार उनले आफू निकट जिल्ला नेतृत्व र सहकर्मीसँग प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।