काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव बसन्तराज अर्यालले पदबाट राजीनामा दिएका छन्।
२०७७ माघ २६ को साधारणसभाले विधान संसोधन गर्दै मनोनित पदहरु खारेज गरेकोले उक्त पदमा रहन नैतिक संकट परेकोले पदबाट अलग हुने निर्णय गरेको उनले बताए।
सहायक महासचिव अर्यालले आइतबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई पत्र पठाउदै पदबाट राजीनामा बुझाएका छन् ।
‘२०७७ माघ २६ गते काठमाडौंमा सम्पन्न साधारणसभाले आफ्नो विधान संशोधन गर्दा मनोनित पदहरु खारेज गरेकोले उक्त पदमा रहिरहन विधानत नैतिक संकट परेको हुँदा अध्यक्षज्यूलाई विधानअनुसार कार्य गर्न सजिलो होस् भनी आजकै मितिबाट पदबाट अलग रहने घोषणा गर्दछु,’ उनले बुझाएको पत्रमा भनिएको छ।
अर्याल मनोनयनबाट सहायक महासचिव पदमा एन्फाको कार्यसमितिमा आएका थिए। अध्यक्ष शेर्पाले मानार्थ अध्यक्ष टासी घले सहित १७ जनालाई कार्यसमितिमा मनोनित गरेका थिए ।
गत शुक्रबार एन्फाको आपतकालीन बैठकमा संघका मनोनित सदस्यलाई प्रवेश दिइएको थिएन। बैठकमा निर्वाचित पदाधिकारी र सदस्य गरी १७ जना तथा मनोनयनबाट आएका महासचिव इन्द्रमान तुलाधर र कोषाध्यक्ष रवीन्द्र जोशी मात्र सहभागी भएका थिए।
यस्तै उनले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको अभिव्यक्ति सह्य नरहेको पनि बताएका छन्।
‘मुख्य प्रशिक्षकबाट पहिले खेलाडीहरु नयाँ ठाउँ हेर्न जाने र कमभन्दा कम गोल खाने लक्ष्य लिएर जाने गरेको भन्ने अभिव्यक्तिबाट देशको लागि विदेशी माटोमा जित्ने लक्ष्य लिई आफ्नो खुन पसिना बगाएको क्षणमाथि अवमूल्यन गरेको भद्दा मजाक र टिप्पणीबाहेक केही हुन सक्दैन भन्ने मेरो बुझाइ छ,’ उनले भनेका छन्।
यस्तै, मुख्य प्रशिक्षक अलमुताइरी र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको विवाद सुल्झाउन एन्फा चुकेको पनि उनले बताएका छन्।
‘हाल संस्थामा देखिएको मुख्य प्रशिक्षक एवं वरिष्ठ उपाध्यक्षबीचको सामान्यभन्दा सामान्य असमझदारीलाई अध्यक्षज्यू कै पहलमा संस्था भित्रै छलफल गरी समाधान गर्न सकिने मार्ग प्रशस्त हुँदाहुँदै सो नगरी नियमन गर्ने निकायमा छानबिनको लागि लेखी पठाउनु अत्यन्तै दुःखद् एवं संस्थाको क्षेत्राधिकारमाथि नै प्रश्न चिन्ह्र तेर्सिएको एक दुःखद् घटनाको रुपमा मैले बुझेको छ,’ उनले भनेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।