काठमाडौं– नेपाल प्रहरीमा हालै विभिन्न पदमा पदोन्नति (बढुवा) भएका अधिकारीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि प्रहरी नायव महानिरीक्षक (डीआईजी) सम्मका ६१ जना अधिकृतहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिह्नले सुशोभन गरेका हुन्।
.JPG)
दर्ज्यानी चिह्नद्वारा सुशोभित हुनेहरुमा नेपाल सरकार मन्त्रिस्तरको २०७८ साउन १४ गतेको निर्णयअनुसार पदोन्नति भएका प्रहरी नायव महानिरीक्षक (डीआईजी) सौरभ राणा तथा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक छाँया देवी गुरूङ र नेपाल सरकार सचिवस्तरको सोही मितिको निर्णयअनुसार पदोन्नति हुनुभएका प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारी तथा प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ९८ जनामध्ये ५८ जना प्रहरी निरीक्षक गरी जम्मा ६१ जना प्रहरी अधिकृतहरु रहेका छन्।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतिले थपेको नवीन उर्जालाई सदुपयोग गरी आमनागरिकप्रति थप जिम्मेबार भई व्यावसायिक भूमिका निर्वाह गर्दै काम गर्न निर्देशन दिए। नयाँ जिम्मेवारीमा खटिँदा नियमित कामको साथै कोभिड-१९ को संक्रमणबाट आफू, परिवार र आम नागरिकलाई सुरक्षा प्रदान गर्न उद्दत हुनुपर्नेमा उनले जोड दिए।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नतिको अवसरसम्म पुर्यााउनका लागि घर परिवारको महत्वपूर्ण योगदान रहेकोले परिवारमा अमूल्य खुसी साटफेर गर्नुपर्ने चर्चा गर्दै घर परिवारलाई समेत नेपाल प्रहरीको तर्फबाट वधाई तथा शुभकामना व्यक्त गरे।
.JPG)
समारोहमा प्रहरी नायव महानिरीक्षक सौरभ राणाले पदोन्नति भएका प्रहरी अधिकृतहरुको तर्फबाट प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै पदोन्नतिले हर्ष र गौरव महसुस भएको र प्राप्त नयाँ जिम्मेवारीलाई थप उत्साह, इमान्दारिता र सुझबुझका साथ उत्कृष्ट रूपमा बहन गर्न आफूहरू प्रतिवद्ध रहेको बताए।
उक्त समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।