काठमाडौं– दुई ब्याट्सम्यानले शतक प्रहार गरेपछि सशस्त्र प्रहरीको एपिएप क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सोमबार जित हात पार्दै सेमिफाइनलमा स्थान बनाएको छ।
एपिएपले प्रदेश २ लाई डिएल नियम अनुसार ९६ रनले हराउँदै एपीएफ सेमिफाइनलमा पुगेको हो।
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको एपिएफले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय३९ रनको विशाल योगफल तयार पारेको थियो। यो योगफल प्रतियोगिताकै सर्वाधिक ठूलो योगफल हो।
यस अघि नेपाल पुलिस क्लबले ३२४ रनको योगफल बनाएको थियो।
एपिएफका लागि सुवास खकुरेल र प्रदीप ऐरीले शतक प्रहार गरे। ओपनर सुवासले १०३ रन जोडे। उनले १ सय ३० बलमा ७ चौका र छक्का प्रहार गरे। प्रदीपले विस्फोटक ब्याटिङ गर्दै १ सय ५८ रनको योगदान दिए। प्रदीपले १ सय ३५ बलमा १३ चौका र ८ छक्का प्रहार गरेका थिए।
यस्तै पृथु बाँस्कोटाले पनि १४ बलमा २९ रनको आक्रामक पारी खेले भने भुवन कार्कीले १६ रन जोडे।
एपिएफको झरेको कुल ६ विकेट मध्ये ५ विकेट प्रदेश २ का दिभ्यांशु मल्लिकले लिएका थिए।
३ सय ४० रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश २ ले १६ ओभरमा विना विकेटको क्षतिमा ६४ रन बनाएपछि जर्षा भएको थियो । जसका कारण खेल २८ ओभरमा झारियो भने २ सय २ रनको नयाँ लक्ष्य निर्धारण गरियो।
१७औं ओभरमा एपिएफका करण केसीले ओपनर सुरज पेटललाई ३४ रनको ब्यक्तिगत स्कोरमा क्याचआट गराए भने हसिम अन्सारीलाई डकआउट भए । महबुव आलम २ रन बनाएर बसन्त रेग्मीको बलमा एलबिडब्लु भएपछि सौरभ नागवंशी पनि शुन्यमै पवेलियन फर्किए । प्रदेश २ ले थप १९ रनका लागि चार विकेट खर्चिँदा १ सय ५ रनमात्र बनाउन सक्यो।
बलिङतर्फ एपीएफका कप्तान बसन्त रेग्मी र करण केसीले ३–३ विकेट लिए।
तीन खेलबाट ६ अंक जोडेको एपिएफ सेमिफाइनलमा पुगेको हो। समूहको विजेता र उपविजेताको टुंगो लगाउनका लागि अब एपीएफले यसअघि सेमिफाइनल पुगिसकेको त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ।
मुलपानी मैदानमा भएको खेलमा प्रदेश ५ विजयी भएको छ। वर्षाले प्रभावित खेलमा प्रदेश ५ ले ३ लाई डिएल मेथडमा ३० रनले हरायो। सुरुवाती ब्याटिङ गरेको प्रदेश ३ ले ४४.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो।
प्रदेश ३ का लागि भूपेन्द्र थापाले सर्वाधिक ४६ रन जोडे भने अन्यको प्रदर्शन कमजोर रह्यो। बलिङतर्फ लाल अधिकारीले ४ विकेट लिँदा कृष्ण कार्की, सन्दिप सुनार र विक्रम भुषालले २–२ विकेट हात पारे।
१ सय ५३ रनको लक्ष्य पछ्याएको प्रदेश ५ ले २०.५ ओभरमा तीन विकेट गुमाउँदै ८९ रन बनाएको थियो। तर मैदानमा बर्षा भएपछि एक बलपनि चल्न सकेन । डकवर्थ लुइस नियम अनुशार ६० रनको नयाँ लक्ष्य निर्धारण गरियो। जुन प्रदेश ५ ले पार गरिसकेको थियो।
यो जितसँगै प्रदेश ५ ले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। तीन खेलबाट उसले ५ अंक बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।