काठमाडौं- स्पेनको यू-२३ टोली जापानमा जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
स्पेनका लागि वैकल्पिक फरवार्ड राफा मिरले इन्ज्युरी समयमा गोल गर्दै खेल २-२ को बराबरी ल्याएपछि अतिरिक्त समयमा थकेलिएकाे थियाे।
यद्यपि स्पेनले आइभोरी कोस्टलाई ५-२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। खेलको दशौं मिनेटमा डिफेन्डर एरिक बेलीले गोल गर्दै आइभोरी कोस्टलाई अग्रता दिलाएका थिए।
तर, ३०औं मिनेटमा स्पेनका ड्यानी ओल्मोले गोल गर्दै खेल बराबरीमा ल्याए। इन्ज्युरी समयको पहिलो मिनेटमा आइभोरी कोस्टले अग्रता लियो।
काउन्टर अट्याकमा कप्तान ग्रेडलले गोल गर्दै जितको नजिक पुर्याएका थिए। तर, त्यसको दुई मिनेटमा नै मिरले बराबरी गोल गरे।
अतिरिक्त समयको ९६औं मिनेटमा स्पेनले अग्रता लियो। बेलीले पेनाल्टी क्षेत्रभित्र हातले बल रोकेपछि रेफ्रीले भीएआरको सहायता लिँदै पेनाल्टी दिएका थिए। उक्त पेनाल्टीमा मिकेल ओयाराज्बलले गोल गर्दै स्पेनलाई ३-२ को अग्रता दिलाए।
खेलको अन्तिम ३ मिनेटमा मिरले लगातार दुई गोल गरे। उनले १ सय १७औं मिनेटमा ओल्मोको पासलाई गोल गरे। यस्तै, अतिरिक्त समयमा ओयाराज्बलको पासमा गोल गर्दै मिरले ५-२ को जित पक्का गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।