काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले आसन्न साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको छ। एन्फा कार्यसमितिको शुक्रबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।
बंगलादेशले कोरोना माहामारीका कारण प्रतियोगिता आयोजना नगर्ने भएपछि नेपालसहित श्रीलंका, माल्दिभ्स र भारतले दावेदारी प्रस्तुत गरेका थिए।
माल्दिभ्सले श्रीलंकासँग मिलेर संयुक्त रुपमा प्रतियोगिता आयोजनाको दाबी प्रस्तुत गरेको थियो भने भारत र नेपालले एकल रुपमा प्रतियोगिता आयोजना गर्न चाहेको थियो।
एन्फा बैठकले अक्टोबर पहिलो साता हुने प्रतियोगिता नेपालमा आयोजन गर्न आवश्यक पर्ने १० करोड रुपैयाँ बराबरको विस्तृत प्रस्तावसहित साफमा अनुरोध गर्ने निर्णय गरेको छ।
साफ च्याम्पियनसिप नेपालमा आयोजना गर्न सरकारबाट स्रोत सुनिश्चितता प्रतिबद्धता पत्र प्राप्तसहित प्रतियोगिता आयोजन गर्न आर्थिक सहयोग ५ करोड रुपैयाँ प्रादन गर्ने मन्त्री स्तरीय निर्णय भएको पनि एन्फाले जनाएको छ।
यस्तै, साफको तयारीमा रहेको राष्ट्रिय पुरुष टिमलाई बंगलादेश, भारत, सिंगापुरको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्नका लागि पत्रचार भइरहेकोले आवश्यकता अनुसार राष्ट्रिय टिमले मैत्रीपूर्ण गर्ने पनि एन्फाको निर्णय छ।
यता, महिला राष्ट्रिय टिमले एएफसी वुमन्स एशियन कप भारत २०२२ को छनोटअघि तयारी स्वरुपमा इरान राष्ट्रिय टिम वा अन्य देशको महिला टिमसँग मैत्रीपूर्ण खेल खेल्नका लागि पत्रचार भएकाले आवश्यकता अनुसार महिला राष्ट्रिय टिमको आयोजना तथा सहभागी गर्ने पनि निर्णय पनि एन्फाले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।