काठमाडाैं- अखिल नेपाल फुटबल संघ (एन्फा) ‘प्रेसिडेन्ट लिग’बाट छनोट भएका चार क्लबले राष्ट्रिय लिग एक महिनाभन्दा लामो नगर्न आग्रह गरेका छन्।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार बसेको बैठकमा ‘प्रेसिडेन्ट कप’का शीर्ष चार क्लबले खेलाडी अनुबन्धनको समस्यालाई देखाउँदै लिगलाई छोट्याउन आग्रह गरेको लिग कमिटिका संयोजक सन्जिब मिश्रले जानकारी दिए।
‘एन्फा प्रेसिडेन्ट लिगबाट छनोटका सबै क्लब खेलाडी अनुबन्धन गरिसकेका छन्। हामीसँग खेलाडी हुँदैनन् भने कुरा उठाएका थिए। त्यही भएर लिगलाई जतिसक्दो छोटाएर खेलाउन आग्रह गर्नुभयो,’ उनले भने।
सुदुरपश्चिम कैलालीको स्टार सिटी युथ क्लब, लुम्बिनी प्रदेश बाँकेको धम्बोजी क्लब, प्रदेश २ रौतहटको मनकामना युथ क्लब र गण्डकी प्रदेश लम्जुङको त्रिवेणी युथ क्लबले राष्ट्रिय लिग खेल्ने छन्।
यस्तै, गत सिजनको ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र क्लब, उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबले राष्ट्रिय लिगमा प्रतिनिधित्व गर्नेछन्।
राष्ट्रिय लिगका लागि कात्तिक ३० गतेको प्रस्तावित मिति एन्फाले छलफलमा राखेको छ।
लिग कमिटिका संयोजक मिश्रले भने राष्ट्रिय लिग र ‘ए’ डिभिजन लिग सँग सँगै लैजानुपर्ने धारण पेस गरेका थिए।
‘खेलाडीको कारण एकैपटक गरौं भन्ने प्रस्ताव राखेको थिएँ। तर, शीर्ष डिभिजनका ६ क्लबले राष्ट्रिय लिग सकेर मात्र सहिद स्मारक ‘ए’ लिग गर्न आग्रह गरेका छन्। यदि सहमति भएन भने राष्ट्रिय लिगलाई तिहार पछि पनि गर्न सकिन्छ,’ उनले भने।
शुक्रबारको बैठकले ठोस निष्कर्ष निकाल्न नसकेपछि अर्को बैठक आइतबारका लागि डाकिएको छ। आइतबारकै बैठकले निर्णय गर्न सक्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।