काठमाडौं-फर्कन छोरा स्वदेशमा, के गर्नु धनले विदेशमा
आमाले बाटो हेर्दै छिन्, अन्तिम सास फेर्दै छिन्
नसोध हाम्रो खबर
तिमी नै छैनौं हाम्रो यहाँ को छ र!
सेतै फुलेको दाह्री, जुँगा र कपाल। कसैले साहरा देओस् भन्ने बेलामा आफैं मानसिक स्वास्थ्य गुमाएकी श्रीमतीको हेरचाह गर्नुपर्दा कस्तो होला? माथिको गीत यस्तै कपाल फुलेको वृद्ध बाबुको बिलौना हो।
वैदेशिक रोजगारीका लागि मात्रै हैन, राम्रो भविष्य र आफ्ना सन्तानको भविष्य सम्झेर गाउँमा बुढा बाबुआमा मात्रै छाडेर सहर पसेका हरेक नेपालीको अवस्थालाई मार्मिक र मनछुने ढंगले यो गीतमा प्रस्तुत गरिएको छ।
श्रीमतीलाई अस्पतालबाट फर्काएर घर ल्याउँदै गर्दा दुईजना युवा प्रदेश हिँडेको दृश्यबाट गीत सुरु भएको छ। वृद्ध बाबुले ति विदेशिन हिँडेका युवालाई नमिठो नजरले हेर्छन्। श्रीमतीको अन्तिम अवस्था आइसकेको छ। धेरै पटक उनलाई तुलसीको मठमा सार्ने काम भइसक्यो। उनी छोराको एक झल्को हेर्ने पर्खाइमा मात्रै सास फेरिरहेकी छन्। छोरालाई टेलिफोन सम्पर्क गर्ने मानिस फोन नउठेर हैरान भइसक्यो।
वृद्ध बाबुको भूमिका सधैँ टेलिभिजनको पर्दामा हँसाइरहने कमलमणि नेपालले निभाएका छन्। निकै भावुक र कारुणिक दृश्यमा पनि उनको भूमिका निकै प्राकृतिक लाग्छ। त्यस्तै आमाको भूमिका निभाउने सरिता गिरीको अभिनयमा पनि खोट लगाउन ठाउँ छैन।
यी दुई अलवा अनय रंगकर्मी कलाकारले भिडियोमा अभिनय गरेका छन्। भिडियोलाई प्रविण खतिवडाले निर्देशन गरेका हुन्। साथै महेश पौडेलको छायांकन रहेको भिडियोको सम्पादन भने कृष्ण भण्डारीले गरेका छन्।
गायक राजेश पायल राईको स्वरमा गीत बनेको छ। केशव शर्मा दाहालको शब्द रहेको गीतमा संगीत भर्ने काम पनि उनै शर्माले गरेका छन्। भिडियो उनकै अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।