काठमाडौं- ‘बौद्ध धर्मको प्राचीन पुरातात्विक बहुमूल्य ग्रन्थ हो’ भनेर झुक्याएर ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाले दुईजनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका ३ स्थाई घर भई हाल काठमाडौं महानगरपालिका ३० मैतीदेवी प्रशान्त प्रताप सिंह र दाङ शान्तिनगर गाउँपालिका४ अधेरी स्थाई घर भई हाल काठमाडौं महानगरपालिका ८ मृगस्थली बस्ने छन्त्याल भन्ने पूर्णबहादुर मगर रहेका छन्।
महाशाखाले उनीहरुलाई बुधबार न्युरोडबाट पक्राउ गरेको हो। महाशाखाका अनुसार उनीहरुले रोल्पा गाउँपालिका २ स्थायी घर भई हाल काठमाडौंस्थित ईचंगुनारायण बस्ने वर्ष २८ को भीमबहादुर डाँगीलाई तीन लाख पाँच हजार ठगी गरेका थिए।
डाँगीलाई करिब चार करोड पर्ने पुरातात्त्विक महत्त्वको धार्मिक पुस्तक खरिद गर्न लागेको तर पैसा नपुगेकोले भन्दै उक्त पुस्तक बन्धकी राखेर तीन लाख पाँच हजार अशुलेको महाशाखाले जनाएकाे छ।
यस्तै, स्याङ्जा वालिङ नगरपालिका ६ स्थाई घर भई हाल काठमाडौं महानगरपालिका ७ सरस्वतीनगर बस्ने बिष्णुप्रसाद अर्यालबाट पन्ध्र लाख पाँच हजार ठगी गरेका थिए।
घटनामा संलग्न रोल्पा लिवाङ नगरपालिका ९ कुआपातल घर भएका बेगम राना मगर, सोही जिल्ला लिवाङ नगरपालिका ८ जङकोट घर भएका डम्मर पुन मगर र राम चन्द्र राना मगर भने फरार रहेका छन्।
थप अनुसन्धान तथा कारबाहीको लागि पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।