सांकेतिक तस्वीर
काठमाडौं- जबरजस्ती करणी (बलात्कार) का घटना मध्ये झण्डै १० प्रतिशत घटना हाडनाताबाटै हुने गरेको पाइएको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को तथ्यांक अनुसार ९ दशमलव ८८ प्रतिशत बलात्कार घटना हाडनाता करणीबाट हुने गरेको पाइएको हो।
यस आर्थिक वर्षमा भएका बलात्कारका २ हजार ५ सय ३४ घटना मध्ये ९.८८ प्रतिशत बलात्कारका घटना हाडनता करणीबाट भएको पाइएको प्रहरी तथ्यांकमा उल्लेख गरिएको छ। यो प्रतिशत भनेका २ सय ५० भन्दा बढी हो। हरेक आर्थिक वर्षमा २ सय ५० भन्दा बढी बलात्कारका घटना हाडनाताबाटै भएको पाइएको छ।
त्यस्तै बलात्कारका घटना मध्ये छिमेकीबाट ३३.८३ प्रतिशत हुने गरेको पाइएको छ। यस तथ्यांकले आफन्त र छिमेकीबाटै महिलाहरु बढी असुरक्षित रहेको देखिएको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवर बताउँछन्।
बलात्कारको उच्च जोखिममा भने ११ वर्षदेखि १८ वर्षसम्मका किशोरीहरु रहेको पाइएको छ। बलात्कारका घटना मध्ये यो समूहका सबैभन्दा बढी ५३.२४ प्रतिशत बलात्कार हुने गरेको पाइएको छ।
त्यसैगरी बलात्कारका २ हजार ५ सय ३४ घटना मध्ये १० वर्ष मुनिकाको बलात्कार हुने प्रशित ११.९८ प्रतिशत छ भने ६० वर्ष भन्दा माथिकाको १.४८ प्रतिशत बलात्कार भएको पाइएको छ।
यस आर्थिक वर्षमा बलात्कारको ग्राफ पनि उकालो लागेको छ। अघिल्लो वर्षका तुलनामा यो आर्थिक वर्षमा १८.१९ प्रतिशतले बलात्कार बढेको तथ्यांकमा जनाइएको छ। आर्थिक वर्ष २०७६/७७ मा २ हजार १ सय ४४ वटा बलात्कारका घटना भएका थिए भने आर्थिक वर्ष २०७७/७८ मा २ हजार ५ सय ३४ घटना भएका छन्।
स्रोत: नेपाल प्रहरी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।