सांकेतिक तस्वीर
काठमाडौं– नेपालमा आत्महत्या दर १४ प्रतिशत भन्दा धेरैले बढेको पाइएको छ। प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा आत्महत्याको दर १४.४ प्रतिशतले बढेको हो।
प्रहरी प्रधान कार्यालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस आर्थिक वर्षमा मात्रै ७ हजार १ सय १७ जनाले आत्महत्या गरेका छन्। जबकी आर्थिक वर्ष २०७६/७७ मा ६ हजार २ सय ३१ जनाले आत्महत्या गरेका थिए। आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा १४.४ प्रतिशत आत्महत्याको दर बढेको हो।
प्रहरीको तथ्यांक अनुसार दैनिक सरदर १९ जनाले आत्महत्या गर्दै आएका छन्। आत्महत्या गर्न विभिन्न विधि अपनाउने गरेकोमा सबैभन्दा बढी झुण्डिएर आत्महत्या हुने गरेको तत्यांक प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको छ।
आर्थिक वर्ष २०७७/७८ मा भएका आत्महत्याका ७ हजार १ सय १७ घटना मध्ये ५ हजार ७ सय २० जनाले झुण्डिएर आत्महत्या गरेका छन्।
त्यस्तै विष सेवनबाट १२ सय ७६, हामफालेर ४६, पानीमा डुबेर ३६, हातहतियार औजारबाट १८, करेन्ट लगाएर २ र आगो लगाएर १९ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।