काठमाडौं– प्रहरी प्रधान कार्यालयले साउन ७ मा ९८ जना प्रहरी नायव निरीक्षक (सई) लाई प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागि सिफारिस गर्योे। तर, बढुवा सिफारिस विवादमुक्त हुन सकेन।
सिनियरलाई पाखा लगाएर जुनियरलाई बढुवा सिफारिस गरिनु र सजाय भोगेका व्यक्तिसमेत बढुवा सिफारिसमा पर्नुले ७ साउनको बढुवा सिफारिस विवादित बनेको छ। सई बढुवामा वरिष्ठतालाई यतिसम्म मिचियो कि २०६० सालमा सईमा बढुवा भएकाहरूलाई समेत उछिनेर २०६३ अन्तिममा सई भएकाहरू बढुवाको सिफारिसमा परे।
विगत ६ महिनादेखि रोकिएको सईको बढुवा शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएलगत्तै खुले पनि वरिष्ठता मिचेर भएको निर्णयले प्रहरी कर्मचारीमा उल्टै निराशा छाएको छ। सिनियरलाई उछिनेर बढुवा सिफारिस पर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाकै पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)देखि अख्तियार प्रमुखका नातेदारसमेत छन्।
नेपाल प्रहरीमा अहिले रहेका प्रहरी नायव निरीक्षकमध्ये २०६० मा बढुवा भएकाहरू ‘पुराना’ मानिन्छन्। २०६० साल असोज ९ गते सई भएका केशब थापा, पर्शुराम चौधरी, पर्वतकुमार केसी इन्सपेक्टरमा बढुवाका लागि सिफारिस हुँदा उनीहरूसँगै सईमा बढुवा भएका सरोजकेशरी भट्टराई छुटे।
भट्टराईलाई उछिनेर २०६३ सालमा सई भएकाहरू इन्सपेक्टरमा बढुवाका लागि सिफारिस भए। २०६३ माघ २९ मा सईमा बढुवा भएका प्रधानमन्त्री देउवाका पीएसओ हिमालय शाह, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईकी नातेदार प्रतिमाया राई, माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराका पीएसओ डबलबहादुर बम बढुवा सिफारिसमा परे। उनीहरू तीनै जना २०६३ माघ २९ गते सईमा बढुवा भएका थिए।
पहिलो नम्बरमा बढुवा भएका सई नै छुटे
२०५८ असार १ मा प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना भएर सईमा बढुवा हुँदा पहिलो नम्बरमा थिए, श्यामसुन्दर जैसवाल। २०५१ वैशाख १५ गते प्रहरी जवानबाट सेवा प्रवेश गरेका उनले २०५८ मा असईमा खुल्ला प्रतिस्पर्धाबाट नाम निकालेका थिए। त्यसपछि सईमा (२०६२ भदौ २२ गते) बढुवा हुँदा उनी पहिलो नम्बरमा थिए।
जैसवालले एमए र एलएलबी समेत उत्तिर्ण गरेका छन्। प्रहरीमा बढुवाका लागि शैक्षिक योग्यतावापत थप अंक पाउने भएकाले एमए र एलएलबी गरेका जैसवाललाई थप सहज हुने थियो। जैसवाल निकै कठिन मानिने प्रहरीको ‘स्याट’ पास गरेर दुई पटक मिसनसमेत गएकाले उनको कार्यक्षमता अब्बल भएको थप पुष्टि हुन्छ। स्याट पास गरेर जैसवाल सुडान र कोसोबो मिसन गएका थिए।
आफ्नो ब्याचको पहिलो नम्बरमा रहेका उनै जैसवाल भने इन्सपेक्टर बढुवा हुँदा छुटे। तर, जैसवाल भन्दा झण्डै दुई वर्षपछि २०६३ माघ २९ मा बढुवा भएकाहरू ‘शक्तिकेन्द्रको दबाब’मा बढुवामा पर्न सफल भएका प्रहरी अधिकारीहरू बताउँछन्।
उनीमात्रै होइन दोस्रो नम्बरमा रहेका जितेन्द्र थापा, चौथो नम्बरमा रहेका नरेन्द्रबहादुर सिंह पनि बढुवामा छुटे। उनीहरूसँगै २०६२ भदौ २२ मा असईबाट सई भएका १२४ जना अहिले पनि सेवारत छन्। उनीहरू मध्ये ४७ जना इन्सपेक्टर बढुवामा परेका छन् बाँकी ७७ जना छुटेका छन्।
२०६२ भदौ २२ मा सई भएकाहरूलाई समेत उछिनेर २०६३ माघ २९ मा सई भएकाहरू बढुवा भएका छन्।
२०५८ असार १ मा असई भई दोस्रो लटमा (२०६२ भदौ ३१) मा बढुवा भएकामध्ये ३ जना बढुवाको सिफारिसमा परेका छन्। २०६३ असार २८ मा सईमा बढुवा भएका ६१ जना अहिले पनि कार्यरत नै छन्। त्यसबेला बढुवा भएकामध्ये १५औं नम्बरसम्मका कोही पनि बढुवाको सिफारिसमा परेनन्। १६, १७ र १८ नम्बरमा रहेका क्रमशः रमेशलाल पौडेल, गजेन्द्र रावल, शालिकराम तिमिल्सना बढुवामा परे। उनीहरूमध्ये रावल व्यवसायिक र अपराध अनुसन्धानमा अब्बल प्रहरी अधिकृत मानिन्छन्। उनीहरूसँगै बढुवा भएका तीन जना पनि बढुवा भए भने ५५ जना बढुवामा छुटे।
शक्तिकेन्द्रको दबाबमा ०६३ माघ २९ का एक दर्जन सईको बढुवा
२०६०, २०६१, २०६२ मा सई बढुवा भएका सयौं जनालाई पछि पार्दै शक्तिकेन्द्रको दबाबमा २०६३ माघ २९ मा सई भएका एक दर्जन प्रहरी अधिकारी बढुवाको सूचीमा परेका छन्।
२०६१ मा सईमा बढुवा भएका करिब तीन दर्जन प्रहरी अहिले पनि सईमै कार्यरत छन्। त्यस्तै, २०६२ भदौ २२ र ३१ मा सई भएका ८४ जना, २०६३ असार २८ र ३२ मा सई भएका ५८ जना सोही तहमा कार्यरत रहँदा २९ माघ २०६३ मा सई भएका १२ जना भने आफूहरूभन्दा सिनियर करिब २०० जनालाई पछि पार्दै इन्सपेक्टरमा बढुवाका लागि सिफारिस भएका छन्।
यो समूहबाट बढुवामा सिफारिस पर्ने अधिकांशजसो शक्ति केन्द्र नजिक छन्। यही समूहका सईहरू हुन्, जो प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका नेता महराको पीएसओ र अख्तिायारका प्रमुख आयुक्त राईको नातेदार भएकाले बढुवामा पर्न सफल भएका छन्।
२०६३ माघ २९ मा बढुवा भएका पहिलो दोस्रो नम्बरका सई छुट्दा तेस्रो नम्बरका रमेश थापा बढुवा सिफारिसमा परे। उनी अख्तियारमा कार्यरत छन्। अख्तियारबाटै पहुँच लगाएर उनी बढुवाको सूचीमा पर्न सफल भएको प्रहरी प्रधान कार्यालयका अधिकारी बताउँछन्। त्यसपछि एकै पटक १० औं नम्बरकी उमा केसी बढुवामा परिन्।
नसिहत पाएकादेखि सेवाबाट बर्खास्त भएर पुनरबहाली भएकासम्म सईबाट इन्सपेक्टरमा बढुवाका लागि सिफारिसभएका छन्। तर, एकपटक पनि कारबाहीको भागिदार नबनेका (इमान्दार) र आफ्नो ब्याचका पहिलो नम्बरमा रहेका प्रहरी अधिकारी भने बढुवामा छुटेका छन्।
१० औं नम्बरकी उमापछि १९ औं नम्बरसम्मका कोही बढुवा नहुँदा २० औं नम्बरका मानसिंह ऐरी बढुवामा परे। उनलाई बालुवाटार (प्रधानमन्त्री देउवा) कै साथ रहेको प्रहरी प्रधान कार्यालयका अधिकारीहरू बताउँछन्। यही समूहबाट बढुवामा छिरेका राजकुमार खड्गी काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीका नातेदार हुन्। उपमेयर खड्गीको जोडबलमा राजकुमार इन्सपेक्टरमा बढुवाका लागि सिफारिसमा पर्न सफल भएका हुन्।
२०६३ माघ २९ मा सई बढुवा हुँदा २६ औं नम्बरका राजु निरौला, २८ औं नम्बरका रबिन ढकाल इन्सपेक्टर बढुवा सिफारिसमा परेका छन्। ढकाल प्रहरीको लेखापालमा ६ वर्ष बिताएका व्यक्ति हुन्। प्रहरीमा निकै आकर्षक मानिने लेखापाल बन्नका लागि राम्रै पहुँच चाहिन्छ। यही समूहबाट बढुवामा छिरेका इश्वर राउत आईजी (शैलेश थापा क्षेत्री)को निवासमा कार्यरत छन्। उनको घर भक्तपुर हो।
बढुवा सिफारिस भएकी प्रतिमाया राई अख्तियार प्रमुख प्रेम राईकी भतिजी नाता पर्छिन्। हिमालय शाह प्रधानमन्त्री देउवाका पिएसओ हुन् भने डबलबहादुर बम कृष्णबहादुर महराको पीएसओ हुन्। शक्तिकेन्दकै पहुँचमा प्रभु खत्री र टपेन्द्रबहादुर खत्री पनि बढुवामा सिफारिस भए।
कारबाही भोग्नेकै बढुवामा बोलवाला
नसिहत पाएकादेखि सेवाबाट बर्खास्त भएर पुनर्बहाली भएकासम्म सईबाट इन्सपेक्टरमा बढुवाका लागि सिफारिस भएका छन्। तर, एकपटक पनि कारबाहीको भागिदार नबनेका (इमान्दार) र आफ्नो ब्याचका पहिलो नम्बरमा रहेका प्रहरी अधिकारी भने बढुवामा छुटेका छन्। उच्च स्रोतबाट नेपाल लाइभलाई प्राप्त डकुमेन्टअनुसार कारबाही भोग्ने प्रहरी अधिकारीको सूची लामै छ।
नेपाल लाइभलाई प्राप्त डकुमेन्टअनुसार सईबाट इन्सपेक्टरका लागि पहिलो नम्बरमा बढुवा सिफारिस भएका केशब थापा नै कारबाही भोगेका प्रहरी अधिकारी हुन्। २०६२ वैशाख २१ र २०६७ जेठ ३ मा गरी उनले दुईपटक नसिहत पाएका थिए।
तेस्रो नम्बरमा बढुवा सिफारिस भएका डम्बरदत्त भट्टलाई २०६३ कात्तिक १३ मा नसिहत दिइएको थियो। भट्टको हकमा २०६४ वैशाख १३ मा नसिहत बदर गरी सचेत गराइएको थियो। राजकुमार बर्तौलाको २०५८ पुस २ मा २ ग्रेड रोक्का भएको थियो भने २०६२ चैत १३ गते नसिहत पाएका थिए।
इन्सपेक्टरमा बढुवा सिफारिस भएका बासु खरेल त सेवाबाट हटाइएर पुनर्बहाली पाएका प्रहरी अधिकृत हुन्। उनलाई २०५८ असार ३० मा सेवाबाटै हटाइएको थियो। पछि २०५८ मंसिर २७ मा पुनर्बहाली पाएका थिए। गम्भीर गल्ती गरेको भन्दै विभागीय कारबाहीस्वरुप सेवाबाट समेत हटाइएपछि पुर्नबाहली भएका खरेलले पुरस्कार पाउँदा विवादमा नै नपरेका र कार्यसम्पादनमा अब्बल देखिएका प्रहरी अधिकारी बढुवाको सूचीमा अटाउन सकेनन्। खरेल २०५१ मा प्रहरी जवानबाट सेवा प्रवेश गरेका थिए।
इन्सपेक्टरमा बढुवा सिफारिस भएका कुमार बहादुर खड्कालाई २०६१ भदौ ७ गते सेवाबाट हटाइएको थियो। पछि २०६६ साउन १४ मा उनी पुनर्बहाली भएका थिए। शेरबहादुर बस्नेतले पनि २०५८ जेठ ३१ र २०६३ वैशाख १० मा गरी दुई पटक नसिहत पाएका थिए।
बढुवा सिफारिसमा परेका नरहरि अधिकारी पनि पटक–पटक कारबाहीमा परेका व्यक्ति हुन्। उनलाई २०५७ मंसिर २९ मा निलम्बन गरिएको थियो। २०५७ माघ १४ मा तलब जरिवाना गरी निलम्बन फुकुवा गरियो। २०७० साउन १३ मा पुनः निलम्बनमा परे। २०७० कात्तिक २० मा निलन्बन फुकुवा भए पनि २ वर्ष बढुवा रोक्का गरिएको थियो।
दिनेश अधिकारीको २०७२ माघ ४ गते २ ग्रेड तलब वृद्धि घटुवा गरिएको निर्णयलाई २०७३ साउन ३१ गते सदर गरिएको थियो। भीमलाल वली पनि पटक–पटक विभागीय कारबाहीमा परेका व्यक्ति हुन्। वलीको २०५६ वैशाख २ गते १ ग्रेड १ वर्षका लागि रोक्का, २०५८ असोज २२ मा खाइपाइ आएको वद्धि ग्रेड २ वर्ष रोक्का, २०६७ साउन २७ मा नसिहत, २०६८ जेठ २५ मा ३ वर्ष पदोन्नती रोक्का गरिएको थियो। उमेश राईको भने २०६० असार ४ गते १ वर्ष पदोन्नती रोक्का गरिएको थियो।
उता अर्जुनकुमार अधिकारीले २०७२ असार १७ मा नसिहत पाएका थिए भने चन्द्रकान्त अधिकारीको २०६४ वैशाख २७ मा १ ग्रेड २ वर्षका लागि रोक्का गरिएको थियो।
पर्शुराम चौधरी पनि कारबाही भोग्नेमै पर्छन्। उनको २०७४ जेठ २४ मा खाइपाइ आएको २ ग्रेड तलब वृद्धि रोक्का भएको थियो। यामनारायण अर्याललाई २०६७ साउन २८ गते निलम्बन गरेर २०६७ भदौ १५ मा निलम्बन फुकुवा गरिएको थियो।
दिपेन्द्रकुमार यादवलाई २०५८ कात्तिक २ गते नसिहत दिएइको थियो। २०६७ मंसिर १९ मा नसिहत दिएर रद्द गरियो। गजेन्द्र रायले २०६२ माघ १३ मा नसिहत पाएका थिए। काजीबहादुर बस्नेतले पनि २०७३ साउन २० मा नसिहत पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।