फाइल तस्बिर
काठमाडाैं- बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरीका स्थानीयले तत्काल पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
मेलम्ची, हेलम्बु र पाँचपोखरीका स्थानीयले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १० बुँदे ज्ञापनपत्र बुझाउँदै तत्काल पुनर्वासको व्यवस्था हुनेगरी आर्थिक सहायताको उचित व्यवस्था गर्न माग गरेका हुन्।
प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका उनीहरुले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकार र स्थानीय सरकारले आफूहरुलाई राहत दिने विषयमा चासो नदिएपछि आफूहरु विचल्लीमा परेको उल्लेख गर्दै उचित राहतको व्यवस्था गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए। ओली नेतृत्वको अघिल्लो सरकार र स्थानीय सरकारले बाढीपीडितको पीडालाई सम्बोधन नगरेपछि पुनर्वाससहितको उचित राहतको व्यवस्था गर्न प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराइएको मेलम्चीका बाढीपीडित सागरकुमार श्रेष्ठले बताए। उनले अघिल्लो सरकारले पीडितलाई राहत दिने काममा कुनै गम्भीरता नदेखाएको भन्दै आक्रोशसमेत व्यक्त गरे।




उनीहरुले घरवारविहीन भएका, रोजीरोटी गुमाएका, व्यवसायमा क्षति पुगेकाहरुलाई तत्काल आर्थिक राहतको प्रबन्ध गर्न माग गरेका छन्। त्यसैगरी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तत्काल तटबन्ध निर्माण गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइएको स्थानीय श्रेष्ठले बताए। पीडितहरुले मेलम्ची नदीलाई पुरानै धारमा कायम राख्न, बैंकबाट ऋण लिएर लगानी गरी व्यवसाय गरेकाहरुको व्याज मिनाह गर्न, विद्युत महसुलमा छुट दिन, त्यहाँका उद्योगी, व्यापारी, विद्यार्थीका लागि अल्पकालीन र दीर्घकालीन राहतको घोषणा गर्न पनि प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन्।
उनीहरुले सरकारले सिन्धुपाल्चोकलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरेकोमा धन्यवाद दिएका थिए। उनीहरुले प्रधानमन्त्री देउवालाई बाढीग्रस्त क्षेत्रको अवलोकन गर्न आग्रह गरेका छन्।
गत असार १ गते आएको बाढीमा परी मेलम्ची, हेलम्बु र पाँचपोखरीमा दर्जनौंको ज्यान गएको थियो भने कयौँ घरबारविहीन हुनुका साथै उनीहरुको हजारौं रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।