काठमाडाैं- अमेरिकाले टोकियो ओलम्पिक २०२० अन्तर्गतको महिला फुटबलमा न्युजिल्यान्डमाथि सानदार जित दर्ता गरेको छ।
साइतामा स्टेडियममा शनिबार भएकाे खेलमा अमेरिकाले न्युजिल्यान्डमाथि ६-१ को जित हात पारेको हो।
अमेरिकाको जितमा रोस लाभेली, लिन्डसे होरान, क्रिस्टेन प्रेस र एलेक्स मोर्गानले गोल गरिन्। यस्तै, दुई आत्मघाती गोल उपहार पाएको थियो। यता, न्युजिल्यान्डकी बेट्से हास्सेटले एक गोल फर्काइन्।
खेलकाे नवौं मिनेटमा लाभेलीले गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाइन्। ४५औं मिनेटमा होरानले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर पारिन्।
६३औं मिनेटमा एबी इर्सेगले आत्मघाती गोल गरेपछि अमेरिकाले खेलमा ३-० काे अग्रता बनायाे।
७३औं मिनेटमा हास्सेटले गोल गर्दै न्युजिल्यान्डलाई ३-१ ल्याए। ८०औं मिनेटमा प्रेसले गोल गर्दै अमेरिकालाई जिततर्फ अगाडि बढाइन्।
८७औं मिनेटमा मोर्गानले गोल गरेपछि अमेरिकाले खेलमा ५-१ काे अग्रता बनायाे। अन्तिम समयमा क्याथरिन बोटले आत्मघाती गोल गरेपछि अमेरिकाले ६-१ काे फराकिलो जित निकाल्यो।
समूह ‘जी’ मा स्वीडेन ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ। यता, २ खेलबाट ३ अंक जोडेर अमेरिका दोस्रो स्थानमा उक्लिएकाे छ।
समान ३ अंक भएपनि गोल अन्तरमा पछि पर्दै अष्ट्रेलिया तेस्रो स्थानमा छ। पराजित न्युजिल्यान्ड अंकविहीन हुँदै पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।