काठमाडाैं- नेकपा एमाले केपी शर्मा ओली निकट युवासंघ अन्तर्गत गठित युथफोर्सको र्यालीमा सहभागी कार्यकर्ताहरुले गरेको फोहोर डा गोविन्द केसीसहितको टोलीले उठाएका छन्।
रातो पहिरनमा सयौंको संख्यामा रहेका युवासंघ र युथफोर्स कार्यकर्ताहरुले भ्याली कमाण्ड घोषणा तथा सपथ कार्यक्रमको लागि शनिबार राजधानीको माइतीघरबाट बानेश्वरसम्म मार्चपास गरेका थिए।
उक्त र्यालीमा सहभागी कार्यकर्ताहरुले सडक र बगैँचामा गरेको फोहोर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको बेथितिविरुद्ध आन्दोलन गर्न जम्मा भएका केसीसहितको टोलीले संकलन गरेर व्यवस्थापन गरेको हो।
‘माइतीघरमा विपी प्रतिष्ठानमा हुँदै गरेको आन्दोलनको समर्थनमा डा केसीसहित हामी केही साथीहरु थियौं। युथ फोर्सको कार्यक्रम नजिकै सकिँदै रहेछ। बाटोभरि बोटल, क्याप, कपडा, चुरोटका ठुटाहरु आदि फालिएको रहेछ। हाम्रो समर्थन कार्यक्रम सकिएपछि हामीले माइतीघर सफा गर्यौं,’ विवेकशील साझाका संयोजक मिलन पाण्डे मिलन पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्।
केही दिनअघि युवासंघले युथफोर्स ब्यूँताउने घोषणा गरेको थियो। युथफोर्सको भ्याली कमाण्ड एमाले नेता महेश बस्नेतसहितको उपस्थितिमा घोषणा गरिएको थियो।
एमाले अध्यक्ष ओलीको उपस्थितिमा युथफोर्सको भ्याली कमाण्ड घोषणा तथा सपथ कार्यक्रम हुने बताइएपनि अन्तिम समयमा उनको सट्टा महासचिव इश्वर पोखरेल कार्यक्रममा उपस्थित भएका छन्। बबरमहलस्थित कार्की पार्टी प्यालेसमा उक्त कार्यक्रम भएको थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।