काठमाडाैं- दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप बंगलादेशले आयोजना नगर्ने भएकाे छ।
शुक्रबार साफको महासचिव स्तरीय बैठकमा बंगलादेशले आयोजना गर्न नसक्ने औपचारिक जानकारी दिएको हो। उसले काेराेना महामारी लगायतक अन्य आन्तरिक बिषय भएकाे कारण प्रतियाेगिता सञ्चालन गर्न नसक्ने बताएकाे छ।
यससँगै साफ आयोजनाका लागि नेपालसहित चार देशले दाबी गरेकाे छ। बंगलादेशले हात झिक्ने जनाएपछि नेपाल र श्रीलंकाले प्रतियोगितामा दाबी प्रस्तुत गरेका थिए।
बैठकमा माल्दिभ्सले श्रीलंकासँग मिलेर संयुक्त रुपमा प्रतियोगिता आयोजनाको दाबी प्रस्तुत गरेको थियाे भने भारतले एकल रुपमा प्रतियोगिता आयोजना गर्न चाहेको बताएकाे थियाे।
बैठकमा अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव इन्द्रमान तुलाधरले नेपालमा काेराेनाका कारण अवस्था चिन्ताजनक रहेपनि प्रतियोगिता आयोजना गर्न आफूहरु सक्षम रहेको बताएका थिए।
यसअघि एन्फाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाट नै आयोजना आवेदनका लागि स्वीकृति पाएको थियो। तर, उक्त स्वीकृति पाएको दुई दिन नबित्दै सरकार परिवर्तन भएको थियाे। यसका बाबजुद पनि एन्फा आयोजना गर्न अघि सरेको छ।
यद्यपि, साफ आयोजनामा चार देशले दाबी प्रस्तुत गरेपछि यसको औपचारिक निर्णय भने हुन सकेन। बैठकले सबै देशले अन्तिम प्रस्ताव तयार गर्ने र उपयुक्त प्रस्तावमा जुलाई अन्तिमसम्म निर्णय गर्ने सहमती गरेकाे छ।
प्रतियोगिता भने अक्टोबरमा आयाेजना हुनेछ। यसअघि प्रतियोगिता सेप्टेम्बरमा हुने तय थियाे। प्रतियोगितामा ५ टोलीको मात्र सहभागिता जनाउने छन्।
पाकिस्तान फिफाको प्रतिबन्धमा रहेका कारण सहभागिता जनाउने छैन। भुटानमा भने कोरोना संक्रमणका कारण सहभागिता नहुने भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।