काठमाडौं- चितवनको राप्ती नगरपालिका–३ कि २३ वर्षीया युवती सुजिता भण्डारीको मृत्यु प्रकरणमा उनकै दाजु नाता पर्ने एक जना पक्राउ परेका छन्।
चितवनका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीका अनुसार सुजिताका ठूलोबुवाका छोरा सुकुदेव भण्डारी पक्राउ परेका हुन्। झापाको शरणमतीका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीको टोलीले केही दिनअघि काठमाडौंबाट पक्राउ गरेको थियो। सीआइबी स्रोतका अनुसार उनलाई बिहीबार मात्रै काठमाडौंबाट चितवन पठाइएको हो।
चितवन प्रहरीले आत्महत्या दुरुत्साहनको आरोपमा म्याद लिएर अनुसन्धान सुरु गरेसँगै उनलाई शुक्रबार सार्वजनिक गरेको छ। सुजिताले आत्महत्या गरेको र त्यसका लागि सुकुदेवले बाध्य बनाएको हुनसक्ने आरोप लगाइएको छ। यद्यपी सुजिताको भिसेरा रिपोर्ट आइनसकेकाले उनको मृत्युका कारण भने अहिलेसम्म खुलेको छैन।
उनीहरु दुई जना प्रेममा रहेको र विवाहसम्म गर्ने निर्णयमा पुगेका थिए। पछि हाडनातामै विवाह हुँदा समाजले घृणा गर्ने भन्दै सुकुदेवले विवाह गर्न नमानेपछि सुजिताले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआइबी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। सुकुदेव काठमाडौंस्थित एक होटलमा काम गर्थे।
असार ११ गते गतेदेखि वेपत्ता भण्डारी १० दिनपछि मृत भेटिएकी थिइन्। राप्ती नगरपालिकाकै ब्रम्हस्थानी सामुदायिक जंगलमा च्याउन टिप्न गएका स्थानीयले मृत व्यक्ति देखेपछि प्रहरीलाई खबर गरेका थिए।
पोष्टमार्टम रिपोर्टमासमेत उनको हत्याको कारण खुल्न सकेन। पछि राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा भिसेरा परीक्षण गरिएको थियो। भिसेराको रिपोर्ट अहिलेसम्म सार्वजनिक भएको छैन।
भिसेराबाट विष पिए, नपिएको थाहा हुन्छ। उनको शव नजिकै ड्युको बोतलमा विषादी जस्तो पदार्थ भेटिएको थियो। साथीको घर जान्छु भनेर निस्किएकी भण्डारीले सोही दिन आफू अहरणमा परेको भन्दै दिदीलाई जानकारी गराएकी थिइन्। अपरहण परेको जानकारी पाइएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) समेतको सहयोगमा अनुसन्धान भएपनि प्रहरीले केही जानकारी पाउन सकेको थिएन।
अपहरणमा परेकी भनिएकी भण्डारीले एउटै व्यक्तिसँग ६ पटकसम्म कल गरेकोसमेत पाइएको थियो। उक्त समयमा मोबाइलटमा डाटासमेत अन रहेको पाइएको अनुसन्धानबाट खुलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।