काठमाडाैं- अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले सहिद स्मारक ‘ए डिभिजन’ लिग तोकिएकै मितिमा हुने बताएका छन्। चार क्लबको ज्ञापनपत्रले फरक नपर्ने भन्दै निर्धारित समयमा नै लिग सञ्चालन हुने उनले बताएका हुन्।
आगामी असोज ३ गतेदेखि सुरु गर्ने भनेको लिग गतिविधि रोक्न जावलाखेल युथ क्लबका अध्यक्ष गहेन्द्र क्षेत्री, फ्रेन्ड्स क्लबका अध्यक्ष दिपक थापा, ब्रिगेट ब्वाइज क्लबका अध्यक्ष लालकुमार पुन र थ्री स्टार क्लबका महासचिव सञ्जीव शिल्पकारले मंगलबार एन्फा महासचिव इन्द्रमान तुलाधरलाई भेट गरी ज्ञापनपत्र बुझाएका थिए।
तर, घोषित मितिमा लिग गर्नुबाहेक कुनै अन्य विकल्प नरहेको अध्यक्ष शेर्पाले बताए। ‘एकवर्ष नभएको लिग लगातार दोस्रो वर्ष पनि गर्न नपाउँदा यसले राम्रो सन्देश जाँदैन। त्यसैले तोकिएकै समयमा लिग गर्ने योजना बनाएका छौं। काेराेनाका कारणले लिग रोक्ने सम्भावना छैन। घोषित मितिमा लिग गर्नुबाहेक हामीसँग अर्को विकल्प पनि छैन,’ शेर्पाले भने।
उनले सबै सुरक्षाको मापदण्ड अपनाइएको कारण लिग सञ्चालन गर्न डराउनुको कारण नरहेको समेत स्पष्ट पारे। ‘यसअघि क्लबहरूसँग गरिएको बैठकमा खेलाडीलाई खोप लगाउने, प्रत्येक खेलअघि पीसीआर टेस्ट गर्ने, पोजिटिभ भए आइसोलेसन व्यवस्थान गर्ने सहमति भएको थियो। लिग हुनुभन्दा अगाडि सबै खेलाडीहरूले खोप लगाइ सक्नेछन्। कोरोना नियन्त्रण सम्बन्धि सम्पूर्ण प्रोटोकल अपनाउने तरिकाले बजेट विनियोजन गरेका छौं,’ उनले भने।
लिगको विषयमा थप छलफल गर्न आगामी आइतबार बैठक राखिएको पनि उनको भनाइ छ। ‘नेपाली फुटबल अघि बढाउन लिग निरन्तर सञ्चालन गर्नुपर्छ। बिना दर्शक पनि लिग गराउनु पर्छ भनेर अगाडि बढिरहेका छौं। यस बिषयमा बैठक बोलाएर छलफल गर्ने छौं,’ उनले भने।
शेर्पाले खेलाडीको भविष्यमाथि नै खेलबाड हुने भन्दै लिग गतिविधिको विषयमा असन्तुष्टि जनाएका चार क्लबले पनि खेल्ने विश्वास गरे। ‘ए डिभिजन लिगमा एक क्लब र प्रतिनिधि मात्र नभएर खेलाडीको भविष्यको कुरा छ। लिग नखेल्ने क्लबहरू स्वतः रेलिगेसनमा जानेछन्। त्यसैले पनि एक वर्षमा एकपटक हुने लिगका लागि आनाकानी गर्ने बानीलाई हटाउनुहुन्छ भन्ने विश्वास लिएको छु,’ उनले भने।
आगामी असोज ३ गतेदेखि लिग सञ्चालन गर्नका लागि एन्फाले ए डिभिजन क्लबहरूलाई असार ३१ गते इमेलबाट पठाएको पत्रमा साउन १० गते भित्र टिम दर्ता गर्न भनेको छ। सोहीअनरुप केही क्लबले खेलाडी आबद्ध गर्नेदेखि लिगलाई लक्षित गर्दै तयारी सुरु गरिसकेका छन्।
तर, साउन १० सम्म टिम बनाउने विषयमा चार क्लबको भने असन्तुष्टि देखिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।