मुम्बई– भारतीय फुटबल टिमका कप्तान सुनील क्षेत्रीले भारतको अन्तर्राष्ट्रिय फुटबल हेर्न २५ सय मात्र दर्शक आएपछि समर्थकलाई सम्बोधन गर्दै अपिल गरेका छन्।
शुक्रबार मुम्बाईमा भएको भारत र चाइनिज ताइपेहबीच खेलमा २५ सय ६९ दर्शक मात्र रंगशालामा उपस्थित थिए। फिफा वरीयतामा ९७ औं स्थानमा रहेको भारतले चाइनिज ताइपेहलाई ५–० गोलले पराजित गरको थियो। खेलमा क्षेत्रीले ह्याट्रिक गरेका थिए। क्षेत्री भारतका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन्।
खेलमा न्यून दर्शक उपस्थित भएपछि क्षेत्रीले ट्विटरमा भिडियो सन्देश पोस्ट गर्दै भनेका छन्, 'कृपया आउनुहोस् र हामीलाई समर्थन गर्नुहोस् । हामीलाई हौसला प्रदान गर्नु होस्। गाली गर्नुहोस्। आलोचना गर्नुहोस्। भारतीय फुटबललाई तपाईंको खाँचो छ। केवल इन्टरनेटमा मात्र हेरेर हामीलाई गाली नगर्नुहोस्। रंगशालामा आएर हाम्रो बारेमा भन्नुहोस्।'
भारतमा क्रिकेट सवैभन्दा लोकप्रिय खेल हो। १ अर्व ३० करोड जनसंख्या भएको भारतमा पछिल्लो तथ्याङमा फुटबलका समर्थक ४१ प्रतिशतले घटेका छन्।
क्षेत्रीको अपिलपछि भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली पनि भिडियो सन्देशमार्तफ सवै खेललाई उतिकै समर्थन गर्न भारतीय समर्थकलाई आह्वान गरेका छन्।
सोमबार भारतीय टिमका कप्तान क्षेत्रीले केन्या विरुद्ध खेल्दै सय क्याप जित्दैछन्। उक्त खेलमा आएर समर्थन गर्न भारतीय प्रशिक्षक स्टेफिन कन्स्टानटाइले आग्रह गरेका छन्।
सन् २०१५ मा इतिहासकै खराब १ सय ६६ वरियतामा रहेको भारत अहिले इतिहासकै राम्रो ९७ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।