काठमाडौं- कथाघेराले निर्माण गरेको छोटो फिल्म ‘अ गुड अपोलोजी’ प्रर्दशनमा आएको छ। युट्युबमा सार्वजनिक गरिएको फिल्म झण्डै २० मिनेट लामो छ। कोभिड-१९ को महामारीमा घरमै थुनिएर पनि कसरी फिल्म बनाउन सकिन्छ भन्ने गतिलो उदाहरणको रुपमा यो फिल्म बनेको छ।
फिल्मलाई स्टोरी टेलिङको स्वरुपमा बनाइएको छ। सामाजिक सञ्जालमा कुनै अपचिरितले आफूलाई घटेको घटना मोडियटरलाई सुनाउँछ र त्यसै भावनालाई कलाकारले अभिनयमार्फत् प्रर्दशन गर्छन्। भर्चुअल माध्यमलाई प्रयोग गरिएको देखाउन छोटो फिल्मले थरिथरिका उपाय अपनाएको छ।
फिल्ममा अनुहार नदेखाउने सर्तमा एक युवतीले आफ्ना भावना मोडियटरलाई बताउन थाल्छिन्। भर्खरै कलेज पढ्न थाल्दा उनको केटा साथी हुन्छ। केटा साथीले छुँदा, चुम्बन गर्दा उनले प्रतिकार गर्दिनन्। तर, विस्तारै उनलाई ती कुराले अफ्ठ्यारो बनाउन थाल्छ। उनी केटा साथीलाई रोकिन आग्रह गर्छिंन्। तर, युवकले उनको कुरा मान्दैन। ऊ झनै अगाडि बढ्न थालेपछि युवती त्यहाँबाट भाग्न सफल हुन्छिन्।
यो घटनाले ती युवतीलाई आफैं दोषी भएकाले त्यस्तो घटना घटेको भन्ने लाग्छ। त्यसैले केटा साथीलाई फेस गर्न सक्दिनन्। यी सबै कुरा केटा साथीले सुनिरहेको हुन्छ। अर्को दिन, उसले ती केटीसँग भेट्न चाहेको र माफी माग्न मन लागेको बताउँछ।
छोटो फिल्मलाई नयाँ तरिकाले खिचिएको छ। समय परिस्थिति छर्लङ हुनेगरी तयार पारिएको छ। आवाजमा कथा भन्ने केटी र उनको दुर्व्यवहारलाई नाटकमा उतार्ने केटी र दुर्व्यवहार गर्ने केटाको अभिनय राम्रो छ। अन्य कलाकारको अभिनय भने प्राकृतिक छैन।
सुदाम सिकेले निर्देशन गरेको फिल्म आकांक्षा कार्की, सचिन मल्ल, बिनिता गुरुङ, अर्चना पन्थी, रोशनी स्याङ्बो, इंगि होपो कोइच सुनुवार लगायतका कलाकारको अभिनय छ।
फिल्मको सहायक निर्देशकमा सेबिता अधिकारी रहेकी छन् भने फिल्मलाई रजिला श्रेष्ठले खिचेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।