काठमाडौं- न्युरोड टिम (एनआरटी) र सातदोबाटो युथ क्लबले फुटबल एकेडेमी सञ्चालन गर्ने भएकाे छ।
एकेडेमी सञ्चालन गर्नका लागि बुधबार क्लब, अखिल नेपाल फुटबल संघ (एन्फा), ल्याब्रेटोरी स्कुल, कीर्तिपुर र लिटिल एन्जल्र्स (एलए) स्कुल ललितपुरसँग सम्झौता गरिएकाे हाे।
एनआरटीले ल्याब स्कुल र सातदोबाटोले एलए स्कुलसँग ६ वर्षको लागि सम्झौता गरेकाे छ।
सम्झौता अनुसार पहिलो वर्ष १४ मध्ये ७ खेलाडी एकेडेमीमा प्रवेश गर्नेछन्। उनीहरुले स्कुलमा अध्ययन र प्रशिक्षण लिनेछन्।
यस्तै, दोस्रो वर्ष क्लबले १४ खेलाडी उपलब्ध गराउनुपर्नेछ। त्यसपछि २१ खेलाडीले स्कुलमा अध्ययनसँगै प्रशिक्षण लिनेछन्।
सातदोबाटो युथ क्लबका अध्यक्ष कपिल रानामगर र एलएका प्रिन्सिपल मुकुन्दराज शर्माले सम्झौतामा हस्ताक्षर गरे।
सातदोबाटोले शीर्ष डिभिजनमा पुगेको पहिलो वर्ष नै युथ एकेडेमीका लागि स्कुलसँग सम्झौता गरेको हो। सम्झौतासँगै एकेडेमी एलएएस–सातदोबाटो युथ एकेडेमीको नामबाट सञ्चालन हुनेछ।
यता, एनआरटीका अध्यक्ष सुन्दर जोशी र ल्याब स्कुलका प्रिन्सिपल लाक्पा शेर्पाले सम्झौतामा हस्ताक्षर गरे। एकेडेमी ल्याब्रेटोरी एनआरटी युथ एकेडेमीको नाममा सञ्चालन हुनेछ। एनआरटी पाँच पटकको लिग च्याम्पियन हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।