नेपाल स्टुडेन्ट्स फेडेरेसनको केन्द्रीय सम्मेलनमा भाग लिन म २०१० सालमा काठमाडौं पुगेको थिएँ। कम्युनिष्ट पार्टीको सदस्यता पाइसकेको थिइनँ। सम्मेलनमा मनमोहन अधिकारी आउनुभएको थियो। उहाँ नेपाल कम्युनिष्ट पार्टीको महासचिव हुनुहुन्थ्यो।
त्यतिबेला मनमोहन, पुष्पलाल लगायत अधिकांश नेता भूमिगत थिए। कम्युनिष्ट पार्टी प्रतिबन्धित थियो। काठमाडौं पुगेपछि नेकपाका संस्थापक महासचिव पुष्पलाललाई पनि भेट्ने रहर थियो। तर, उहाँ काठमाडौंमा हुनुहुँदोरहेनछ। महासचिवबाट हटाएर गन्डक प्रान्तीय कमिटीको जिम्मा दिएर पठाइएको रहेछ।
त्यसपछि म पढ्न वनारस गएँ। वनारसको कमिटीले २०१४ सालमा पार्टी सदस्यता दियो। त्यहाँ आइए पढिसकेपछि बीए पढ्न २०१६ सालमा फेरि काठमाडौँ आएँ। त्यतिबेला नेकपाको पार्टी कार्यालय नरदेवी नजिक थियो। पुष्पलालसँग मेरो पहिलो भेट त्यही पार्टी कार्यालयमा भएको हो।
म पहिलो पटक पार्टी कार्यालय पुग्दा धेरै केन्द्रीय नेता त्यहाँ हुनुहुन्थ्यो। मैले सबैलाई आफ्नो परिचय दिएँ। पुष्पलालले मसँग निकैबेर कुरा गर्नुभयो। अनि के सोच आयो कुन्नी ‘ल हिँड्नुस्’ भनेर बाहिर लिएर जानुभयो। बाटोमा कुराकानी गर्दै हिँड्यौँ। उहाँको घरसम्म पुगेँ, र चिया खाएर फर्केँ।
उहाँको व्यक्तित्व आकर्षक लाग्थ्यो। ठूलो अनुहार थियो। आँखा पनि ठूला थिए। उहाँ नेकपाको संस्थापक मात्र होइन शहीद परिवारको सदस्य पनि हुनुहुन्थ्यो। गंगालाल श्रेष्ठको भाइ भएको कारण पनि उहाँप्रति धेरै सम्मान थियो।
उहाँको व्यक्तित्व आकर्षक लाग्थ्यो। ठूलो अनुहार थियो। आँखा पनि ठूला थिए। उहाँ नेकपाको संस्थापक मात्र होइन शहीद परिवारको सदस्य पनि हुनुहुन्थ्यो। गंगालाल श्रेष्ठको भाइ भएको कारण पनि उहाँप्रति धेरै सम्मान थियो।
गंगालाललाई मृत्युदन्ड दिनुभन्दा केहीअघि उहाँका परिवारलाई भेट्न दिइएको थियो। गंगालालले पुष्पलाललाई ‘मैले बालेको दियो कहिल्यै निभ्न नदिनू’ भन्नुभएको रहेछ। वास्तवमा पुष्पलालले आफू बाँचुन्जेल आन्दाेलनको दियो निभ्न पनि दिनु भएन। उहाँ राणा शासन र पञ्चायतविरुद्ध लडिरहनुभयो।
तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ मा ‘कू’ गरे। पुष्पलाल काठमाडौँमै हुनुहुन्थ्यो। सरकारले उहाँको खोजी गरिरहेकाले भूमिगत हुनुभयो। त्यसपछि म उहाँसँग धेरै नजिक भएँ। भूमिगत रुपमा उहाँसँग पार्टीको कक्षा पनि लिएँ।
म पार्टीको स्टुडेन्ट फ्रन्टको सदस्य हुँदै सचिव भएँ। तेस्रो पार्टी महाधिवेशनमा स्टुडेन्ट फ्रन्टको तर्फबाट नै भाग लिएको हुँ। त्यो महाधिवेशनमा मैले पुष्पलाललाई साथ दिएको थिएँ। उहाँले ‘नयाँ जनवादी कार्यक्रम’ ल्याउनुभएको थियो। कांग्रेसलाई मित्रवत् शक्ति मानेर संयुक्त आन्दोलन गर्नुपर्ने उहाँको लाइन थियो। त्यसअघि दरभङ्गा प्लेनममा पनि उहाँले त्यही अडान राख्नुभएको थियो।
कम्युनिष्ट पार्टीमा विवाद र फुटको श्रृङ्खला सुरु भइसकेको थियो। तेस्रो महाधिवेशनले चुनेको पार्टी नेतृत्व निस्क्रिय भयो। पुष्पलालले केन्द्रीय कन्भेन्सनबाट आयोजक समिति बनाउनुभयो। म पनि त्यसको सदस्य भएँ।
पार्टी छिन्नभिन्न थियो। त्यसैले तेस्रो सम्मेलन गरेर पार्टी घोषणा गर्नुपर्ने अवस्था आयो। तर, सम्मेलनमा भाग लिन आउने सदस्य निश्चित गर्न देशभित्र कमिटीहरु आवश्यक थियो। त्यसका लागि हामी भूमिगत रुपमा नेपाल आयौँ। हामीले पुष्पलालसँग सम्पर्क गरेर उहाँको निर्देशनअनुसार नै काम गर्थ्यौं। फेरि हामी भारत फर्किएपछि तेस्रो सम्मेलन भयो। २०२५ सालमा भारतको गोरखपुरमा भएको सम्मेलनमा पुष्पलाल, हिक्मत सिंह र नारायणमान विजुक्छेसहित म पनि पार्टीको ‘हाइकमाण्ड’मा थिएँ।
सम्मेलनपछि म नौ महिना जेल परेँ। मलाई ‘एरिया बन्दी’ गरेर भैरहवामा राखिएको थियो। मेरो निगरानीमा एउटा पुलिस हुन्थ्यो। म घुम्न पाउँथे, तर भैरहवाबाट बाहिर जान पाउँदिन थिएँ।
मेरो अवस्थाबारे पाटी नेतृत्वलाई खबर पठाएँ। नेतृत्वले भागेर भारत आउन भन्यो। म भैरहवाकै साथीहरुको सहयोगमा भारत पुगेँ। एक महिना भैरहवा बस्दा पार्टी सदस्यता दिएकै साथीहरुले भाग्न सहयोग गरे। मेरो निगरानीमा खटिएको प्रहरीलाई राति ‘शौचालय गर्न जाने’ बताएर लोटा झाडीतिरै फालेर भागेको थिएँ।
दुई जना साथीले मलाई भारत पुर्याए। हामी चोरबाटोबाट पैदलै सीमा नाघेका थियौँ। त्यहाँबाट रेल चढेर गोरखपुर गएँ। पश्चिमाञ्चल इन्चार्ज एकदेव आले त्यहाँ हुनुहुन्थ्यो। उहाँलाई भेटेपछि भोलिपल्ट वनारस गएँ। त्यहाँ पुष्पलालसँग भेट भयो। अनि फेरि पार्टी काममा जोडिएँ।
पञ्चायतकालको सुरुवातदेखि नै पुष्पलालले कांग्रेस र वामशक्ति मिलेर आन्दोलन गर्ने अडान राख्नुभयो। आफ्नो जीवनको अन्तिम अवस्थासम्म उहाँ त्यही अडानमा हुनुहुन्थ्यो। तर, उहाँको निधनपछि मात्र उहाँको सोचले सफलता पायो। तर, त्यसको जस पार्टीहरुले औपचारिक रुपमा उहाँलाई दिएका छैनन्। सबैले आफूलाई केन्द्रमा राखेर जस खोज्ने प्रवृत्ति छ।
मैले राजनीतिक जीवनको सुरुदेखि पुष्पलाल बाँचुन्जेल उहाँलाई नै साथ दिएँ। तर, उहाँलाई अन्तिम समयमा भेट गर्न सकिन। त्यति बेला म जेलमा थिएँ। २०३० सालमा ‘बर्रे काण्ड’ पछि जेल परेको हुँ।
लुम्बिनीमा किसानमाथि शोषण थियो। हामीले साहू सुदखोरलाई ठेगान लगाउने अभियान चलाएका थियौँ। त्यस अनुसार अर्घाखाँचीको सिद्धधारा गाउँ पञ्चायतका शोभाखर बेलबासेको घरमा कारबाही गरेर तमसुक जलाउने निर्णय भयो। उनी चर्को ब्याजमा ऋण दिने र नक्कली तमसुकसमेत बनाउने गर्थे। उक्त कारबाहीमा मेरो नेतृत्वमा १५ जना सहभागी थियौँ। हामीमाथि आक्रमण हुन खोजेपछि हामीले फायर नै खोल्नु परेको थियो। त्यस घटनामा सहभागी वेदुराम भुषाल, पीताम्बर भुषाल, बुद्धि रायमाझी, मलगायत नौ जना पक्राउ परेका थियौँ।
पुष्पलालको मृत्युको खबर मैले जेलमा नै पाएको हुँ। म जनमत संग्रहपछि मात्र जेलबाट छुटेँ। चैत २०३० सालमा पक्राउ पर्नुभन्दा करिब एक महिनाअघि उहाँसँग भारतमा नै अन्तिम भेट भएको थियो।
पुष्पलाल सधैँ सामन्तवाद र साम्राज्यवाद विरोधी रहनुभयो। पार्टीलाई शुद्धीकरण गर्नुपर्ने उहाँको मत हुन्थ्यो। सिद्धान्तबाट बाहिर गएर कुनै काम गर्न दिनुहुँदैन भन्ने उहाँको मान्यता थियो।
कम्युनिष्ट आन्दोलन र संगठन दुवैमा उहाँको योगदान छ। तर, अहिलेका कम्युनिष्ट पार्टी उहाँको दर्शन र सिद्धान्त अनुसार चलेका छैनन्।
(पोखरेलसँग प्रकाश गुरागाईंले गरेको कुराकानीमा आधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।