काठमाडौं- शहीद स्मारक ए डिभिजन लिग रोक्न ललितपुरका चार क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई आग्रह गरेका छन्।
थ्रीस्टार क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लबले कोरोनाका कारण लिगका गतिविधि सुरु गर्न उपयुक्त नहुने दाबी गर्दै मंगलबार एन्फा अध्यक्षलाई सम्बोधन गर्दै महासचिव इन्द्रमान तुलाधरले पत्र बुझाएका हुन्।
आगामी असोज ३ गतेदेखि लिग सञ्चालन गर्नका लागि एन्फाले ए डिभिजन क्लबहरूलाई असार ३१ गते इमेलबाट पठाएको पत्रमा साउन १० गते भित्र टिम दर्ता गर्न भनेको छ। सोहीअनरुप केही क्लबले खेलाडी आबद्ध गर्नेदेखि लिगलाई लक्षित गर्दै तयारी सुरु गरिसकेका छन्।
तर, एकपक्षीय रुपमा मिति घोषणा गरेको भन्दै चार क्लबले भने असन्तुष्टि जनाएका छन्।
‘असार १४ गते एन्फा र ए डिभिजन क्लबहरुको संयुक्त बैठकमा लिग प्रतियोगिताको मार्केटिङका लागि मात्र मिति तय गरौं भन्ने अध्यक्षज्यूको विशेष अनुरोध अनुसार हाललाई लिग असार ३ गतेका लागि तय गरि अन्य विषयमा छलफल गर्न छिट्टै सम्पूर्ण क्लबहरुसँग बस्ने निर्णय भएको थियो,’ पत्रमा भनिएको छ, ‘उक्त सहमति अनुसार नभइ एन्फाबाट टिम दर्तासम्बन्धी एकपक्षीण रुपमा पत्र पठाएको कुरामा असहमति जनाउँदै ए डिभिजन क्लबहरुको यथाशीघ्र बैठक बोलाउन हार्दिक अनुरोध गर्दछ।’
उनीहरूले कोरोना संक्रमणदर न्यून भए लिग लगायत फुटबलका गतिविधि सञ्चलान गर्न उपयुक्त नहुने तर्क गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।