काठमाडौं- आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिँदा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले देउवाको पक्षमा मतदान गरे। त्यो दिन एमालेमा चारथरि सांसद देखापरेका थिए– देउवाको पक्षमा भोट हाल्ने (२२), विपक्षमा भोट हाल्ने (८३), कतै भोट नदिने (१०) र यो प्रक्रिया आरम्भ नहुँदै राजीनामा दिने (१)।
नेकपाकालदेखि एमाले विभाजनसम्म आइपुग्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका कृत्यको विपक्षमा उभिएका वरिष्ठ नेता नेपालले आफ्नो अडान कायम राखे। 'आफ्नै पार्टीको सरकार ढालेर विपक्षलाई विश्वासको मत दिने?' भन्ने इतिहासको 'यक्ष प्रश्न' खेप्न तयार भए, तर आफ्नो ‘मान्यताको मैदान’बाट विचलित भएनन्।
देउवालाई विश्वासको मत दिएर फर्केका नेपाल त्यो दिन प्रतिक्रिया दिने ‘मूड’मा थिएनन्। तर, क्यामेराले उनको गाडीको ढोकासम्म पछ्याएपछि नकार्न पनि सकेनन्।
उनको संक्षिप्त प्रतिक्रिया थियो, 'यही संसदले स्थायित्व दिँदैन भन्ने कुरा गलत सावित भयो। संविधान जोगियो। अदालतको फैसलाको कदर गरेका छौं र निरंकुश प्रवृत्तिमाथि अंकुश लागेको छ।'
नेपालबाट छुटेको आड र टुटेको भरोसा
प्रतिक्रिया दिने क्रममा उनले आफूलाई साथ दिनेहरु खोजे। पछाडिपट्टि रामकुमारी झाँक्री देखिइन्। बोल्दाबोल्दै बीचमै रोकिएर नेपालले झाँक्रीलाई बोलाए, तर सुरक्षाकर्मीबाट छेकिएकाले उनी आउन पाइनन्। अनि नेपालले प्रतिक्रिया दिन थाले।
नेपालले त्यतिबेला आफ्नो वरिपरि केही ‘सहयोद्धा’को आड खोजेको प्रतीत हुन्थ्यो। तर, उनलाई ‘किन अर्को पार्टीको सभापतिलाई प्रधानमन्त्री बनाएको र किन विश्वासको मत दिएको?’ भन्ने यक्ष प्रश्न झेल्नुपर्ने अवस्थामा ल्याइपुर्याउने उनका सबैभन्दा बलिया सारथीमध्ये भीम रावल दिउँसै प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएर मैदानबाट भागिसकेका थिए। उनीसँगै रहेका अरु १० सांसद पनि ‘एमाले एकताका खातिर’ भन्दै प्रतिनिधि सभामा मतदान हुनुअघि नै घरतिर निस्किए।
एमालेका निम्ति नेपाल २३ फागुनदेखि नै ‘वनबासमा’ छन्। नेकपाकालमै एमालेको संस्थापनभन्दा पर पुगेका उनलाई २३ फागुनमा सर्वोच्च अदालतले गरेको फैसलाले वनबाट त फर्कायो तर, घर आउन दिएन। २८ फागुनपछि ओली पक्षले गरेका निर्णयले उनका लागि घर फर्कने बाटो बन्द गर्दै लगे र यहाँसम्म पुर्याए।
आफैंले पार्टीमा 'विद्रोह' गरेर पुनर्स्थापना गरेको प्रतिनिधि सभालाई जोगाउन देउवालाई विश्वासको मत दिनुपर्ने उनको धारणामा कहिल्यै विचलन थिएन। तर, उनलाई जुनसुकै हदसम्म साथ दिन तयार भएर अडिग हुन उक्साएका उनका सहकर्मीमध्ये धेरैले ३ साउनसम्म लगभग साथ छाडिसकेका थिए। विश्वासको मत दिने बिहान नेपालका विश्वासपात्र रहेका उपाध्यक्ष भीम रावलसमेत विश्वासको मत दिन नहुने कित्तामा पुगेका थिए।
सुरुदेखि नै एकताको पक्षमा रहेका कार्यदलका अन्य सदस्यले विश्वासको मत नदिने संकेत उनले पहिल्यै पाइसकेका थिए। रावलसमेत उक्त मान्यतामा पुगेको संकेत पाएपछि नेपाल हच्किए। ३ साउन बिहान आफ्नै घरमा आइपुगेका विघटित कार्यदलका सदस्यले राखेका कुरा उनी सुनि मात्रै रहेका थिए। त्यहाँ उनकै पक्षका पाँच र ओली पक्षका चार गरी ९ जना विघटित कार्यदलका सदस्य एमालेको एकता जोगाउन विश्वासको मत दिन नहुने भन्दै नेपाललाई फकाइरहेका थिए। त्यसले नेपाललाई समस्यामा पारिरहेको थियो। आफ्नो पक्षमा दत्तचित्त भएर लागेकासमेत त्यसरी प्रस्तुत भइरहेकाले उनी निर्णय गर्न सकिरहेका थिएनन्।
त्यही समयमा उनलाई एउटा फोन आयो। त्यो फोन रामकुमारी झाँक्रीको थियो। तर, आवाज उनको मात्रै थिएन। अरु केही सांसदको पनि थियो, र उनीहरु भनिरहेका थिए- तपाईं आफ्नो मान्यतामा विचलित नहुनुस्। कुनै पनि हालतमा विश्वासको मत हाल्न हामी ११ जना सांसद तयार भएर बसेका छौं। अरु साथीहरु पनि जुटाउँदैछौं।
नेपालको यी भीममाथि त्यति विश्वास देखिन्थ्यो, जति महाभारतको युद्धमा युधिष्ठिर आफ्ना सवैभन्दा बलिष्ठ भाइ भीममाथि गर्थे। तर, यताका भीम उताका भीम जस्तो अन्तिमसम्म मैदानमा टिक्न सकेनन्।
कार्यदलका सदस्य नेपाललाई विश्वासको मत नदिनका लागि फकाउन पुगेको थाहा पाएपछि नेपालपक्षका ती सांसद एक ठाउँ भेला भएका थिए। त्यो फोनले नेपाललाई हौस्यायो र उनले फोनमा यतिमात्र भने, 'ल त्यै गर्नुहोस्।' यता जम्मा भएकाहरुले नेपालको लाइन पाए। उता नेपालले कार्यदलका सदस्यहरुको कुरा सुने र प्रतिक्रिया नदिइ फर्काए।
मैदानबाट भागेका भीम
पार्टीका स्थापित मूल्यमान्यताविरुद्धका गतिविधि हुँदा होस् या एमसीसीविरुद्ध, नागरिकता विधेयक र अध्यादेश ल्याइँदा होस् या लिपुलेक, लिम्पियाधुरा र कालीपानीको प्रसंग, राष्ट्रियताका सवालमा समेत भीम रावलको स्वर सँधै उँचो सुनियो। यी सवालमा उनले आफूलाई प्रखर रुपमा प्रस्तुत गरे। निर्धक्क भएर बोले। एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका दुवै प्रतिनिधि सभा विघटनविरुद्ध उनी अग्रपंक्तिम उभिए।
नेकपाकालमा पुष्पकमल दाहाल 'प्रचण्ड'- माधवकुमार नेपाल दुवैलाई र एमालेकालमा नेपाललाई रावलमाथि ठूलो भरोसा थियो। यही प्रतिनिधि सभा विघटन बदर गरेर देउवालाई प्रधानमन्त्री बनाउन अदालतमा दायर गरिएको रिटदेखि बहससम्ममा रावलको सक्रियता निकै थियो। रावलमाथि यति भरोसा थियो कि नेपालले एकता कार्यदल बनाउँदा उनलाई नै संयोजक बनाइदिए। उता ओलीले आफ्ना विश्वासपात्र सुवास नेम्वाङ संयोजक बनाएका थिए।
नेपालको यी भीममाथि त्यति विश्वास देखिन्थ्यो, जति महाभारतको युद्धमा युधिष्ठिर आफ्ना सबैभन्दा बलिष्ठ भाइ भीममाथि गर्थे। तर, यताका भीम उताका भीम जस्तो अन्तिमसम्म मैदानमा टिक्न सकेनन्। देउवाले विश्वासको मत लिने दिन दिउँसै यी भीमले सांसद पदबाट राजीनामा दिए। मैदानमा युद्ध सुरु हुनुअघि अस्त्र-शस्त्र बुझाएर हिँडेको लडाकुका रुपमा आफूलाई प्रस्तुत गरे।
संसद जोगाउन कि प्रतिशोध साँध्न?
२०७७ चैत १ गते नेपालपक्षका रावलसहित ११ जनाले संयुक्त वक्तव्य जारी गरेका थिए। जहाँ भनिएको थियो- 'ओलीका अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कृत्य पराजित गर्छौं।' ओलीमा कम्युनिष्ट पार्टीको सदस्यका सामान्य राजनीतिक आचरण, नैतिकता नरहेको तथा अहंकार, संकीर्ण स्वार्थमा रमाउने प्रवृत्ति रहेको ११ जनाकै बुझाइ थियो।
त्यसले ४ र ५ चैतको सानेपा भेलामा पुर्याएको थियो। जहाँ भनिएको थियो, 'हामी अब एउटा डुंगामा मात्रै होइन, एउटै यात्रामा सहभागी छौं। जुनसुकै प्रकारका आँधीबेरी एक भएर सामना गर्नेछौं।' त्यसपछि चलेका संघर्षमा नेपाल पक्षमै रहेका रावल आइतबारदेखि फरक कित्तामा उभिएका छन्।
त्यसको कारण उनले भनेका छन्, 'उच्च राजनीतिक नेतृत्वमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति र स्वेच्छाचारी व्यवहार।' यसअघिका सबै भाषण, अन्तर्वार्ता र वक्तव्यमा वर्तमान परिस्थितिका कारक ओली ठहर्याउने गरेका उनले ३ साउनदेखि 'उच्च राजनितिक नेतृत्व' भन्दै नेपाललाई पनि मुछेका छन्। आइतबार बिहान उनीलगायत विघटित एमाले एकता कार्यदल नेपाललाई विश्वासको मत नदिने गरी मनाउन उनको निवास कोटेश्वर पुगेको थियो। तर, नेपालले मानेनन्।
अहिलेसम्म हेरिएका रावल हक्की स्वाभवका हुन्। सम्झौता गर्ने वा भाग्ने स्वभाव उनको होइन। तर, यी फेरिएका रावल को हुन्? किन फेरिए? एमालेभित्रै यसबारे प्रश्न उठिरहेका छन्, अनि बाहिर पनि।
ओलीले एकता कार्यदल ब्युँताइदिएपछि आफूले नै एमालेलाई मिलाउन सक्ने आकांक्षा बोकेर हिँडेका रावलको अहंमा नेपालको स्वीकारोक्ति नमिल्दा ठेस पुर्याएको हुनसक्छ। वा नेपाललाई यत्रो समय साथ दिइरहँदा एकपल्ट आफूले भनेको नमानेको आवेग हुनसक्छ। सम्भवतः उनी संसद र पार्टीबाटै राजीनामा दिने तहमा रिसाए।
नेपालले कार्यदलको प्रस्ताव नमान्नुको राजनीतिक मात्रै होइन, नैतिक कारण उनीसँग थियो। त्यसैले २७ असारमा १० बुँदे सहमति हुँदै गर्दा उनी भनिरहेका थिए, 'अदालतको फैसलालाई प्रभावित पार्नुहुँदैन।' उनी दृढ थिए- संसद् जोगाउन चालिएको कदमपछि मात्रै रोकिने। त्यसैले नेपाल आफ्नो मान्यतामा अडिग हुनु स्वभाविक थियो।
रावलले राजीनामा दिनुको न वस्तुगत कारण दिन सकेका छन्, न सन्दर्भले पुष्टि गर्छ। बरु वर्तमान अवस्थामा प्रश्न नेपाली राजनीतिका भीममाथि नै सोझिएको छ, 'यो संसद जोगाउने 'धर्मयुद्ध' थियो कि एमालेमा स-सम्मान फर्किन नपाएकोमा प्रतिशोध?' नेपालले आइतबार आएर खुट्टा कमाएको भए उनीमाथि पनि सोझिने प्रश्न थियो यो।
रावललाई पक्कै सम्झना हुनुपर्छ, उनले गत २३ फागुनमा संसदमा उभिएर तत्कालीन प्रधानमन्त्री ओलीमाथि प्रश्न गरेका थिए, 'वर्तमान प्रधानमन्त्री कुन पार्टीको हो?' सभामुखले तीन मिनेटको समय दिँदा पनि उनले समयको बन्देजबाट महत्वपूर्ण प्रश्न नरोक्न आग्रह गरेका थिए। रावलमाथि धेरैको अहिले पनि अपेक्षा त्यही थियो- संसदमै उभिएर उनले बताऊन् कि नेपाली राजनीतिमा भइरहेको धोकाधडीबारे। शोभनीय पनि त्यही हुन्थ्यो र सान्दर्भिक पनि।
हेरिएका रावल, फेरिएका रावल
अहिलेसम्म हेरिएका रावल हक्की स्वाभवका हुन्। सम्झौता गर्ने वा भाग्ने स्वभाव उनको होइन। तर, यी फेरिएका रावल को हुन्? किन फेरिए? एमालेभित्रै यसबारे प्रश्न उठिरहेका छन्, अनि बाहिर पनि।
उनी बालुवाटार पुगेर तत्कालीन प्रधानमन्त्री ओलीलाई भेटेपछि वा होटेल मेरियट पुगेर भारतीय गुप्तचर संस्था 'रअ'का प्रतिनिधिलाई भेटेपछि फेरिएको आरोपको उनी आफैंले ३० असारमा विज्ञप्तमार्फत् खण्डन गरिसकेका छन् र प्रमाणित गर्न चुनौती दिएका छन्। ओलीले कार्यवाहक अध्यक्षको लोभ देखाएकाले उनी नरम भएको खबरलाई पनि उनले कपोलकल्पितको संज्ञा दिएका छन्।
नेकपा एमालेलाई विभाजनबाट रोक्न आफूले प्रयास गर्दा आफू विरुद्ध षड्यन्त्र भइरहेको उनको भनाइ थियो। आफूलाई आरोप र धम्कीयुक्त फोन आएको उनले बताएका थिए।
पार्टी एकताको कोणबाट रावलले गर्न खोजेको प्रयासलाई मान्ने हो भने त्यसको औचित्य ३१ असारको बैठकबाटै सकिएको थियो। किनभने त्यो दिन उनीलगायतले एकताका लागि भन्दै ओली पक्षले बोलाएको स्थायी कमिटी बैठक रोक्न प्रयास गर्दा उल्टै ओलीबाटै नजरअन्दाज बेहोर्नुपरेको थियो। ओलीले उनीहरुको अनुरोध सुनेको नसुन्यै गरिदिएका थिए। नेपालपक्षका अरु पाँच स्थायी कमिटी सदस्य बोकेर च्यासल पुगेका उनले बैठक रोक्न भने पनि ओलीले उनको आग्रह मानेनन्। त्यसको केही दिनअघि बालुवाटार पुगेर पनि उनले यस्तै प्रयास गरेका थिए।
२७ असारको १० बुँदे सहमतिमा २०७५ जेठ २ गते फर्किने सहमति छ र त्यसपछि भएका स्थायी कमिटीमा नेपाल र उनी पक्षका नेताहरु हुन जरुरी थियो। अहिले केन्द्रीय कमिटी बैठक चलिरहेको छ, समयका हिसाबले त्यो जेठ २ मा फर्किएको छ। किनभने यसलाई १० औं केन्द्रीय कमिटी बैठक भनिएको छ। तर, मान्यताका हिसाबले बालुवाटारमा भएको बैठककै निरन्तरता देखिन्छ। किनभने त्यहाँ नेपाल पक्ष छैन, नेकपा माओवादी केन्द्रबाट आएका रामबहादुर थापा 'बादल'को समूह छ।
रावल मैदानबाट भागिसके। तर, आफूलाई राष्ट्रवादको बर्कोमा ढाक्न उनले लड्नुपर्ने मुद्दा अब मैदान प्रवेश गर्दैछन्। उनले 'राष्ट्रघाती' भनेको एमसीसी संसदमा प्रवेश हुने नै छ।
ओली पक्ष आफ्नो मान्यताबाट पछि नहट्ने अवस्थामा हुने सहमतिलाई एकता भनिएला त? एमालेका नेपाल पक्षकै एक नेताकै टिप्पणी छ, ‘रावल कमरेडले पनि बुझेको हुनुपर्छ, आफ्ना मान्यता त्यागेर मिसिनु एकताभन्दा पनि आत्मसमर्पण हो। प्रतिनिधि सभा विघटन गैरसंवैधानिक भन्ने नेपाल पक्षको मान्यतालाई कायम राखेर त्यसपछि सामूहिक निर्णयलाई आत्मसात गर्ने कुरा मात्र वास्तविक एकता हुन्छ।’
एकता भनेको दूधकोशी र सुनकोशी मिलेर कोशी बन्ने प्रक्रिया हो। अझ अरु पाँच कोशी पनि मिसिएर भनिने सप्तकोशी हो। मुख्य पहिचान कोशी त्यहाँ कायम रहन्छ। तर, रावलले खोजेको एकता बागमतीमा कर्मनासको मिसावट जस्तै भएको टिप्पणी एमालेवृत्तमै छ। बागमतीसँग मिसिन दक्षिणबाट कर्मनास उत्तर त आयो, तर मिसिएपछि अस्तित्व हरायो।
नेपाललाई परेको संकट यही हो- सबथोक छाडेर जेठ २ मा फर्किने कि मान्यतासहित? स्वीकारे पनि नस्वीकारे पनि एमाले अब २०७५ जेठ २ मा पुग्न सक्दैन।
मुख्य प्रश्न- त्यो तापको एमाले यो सन्ताप बोकेर कसरी पुग्छ?
सहायक प्रश्न- विश्वासका धरोहर बनेर सत्तामा पुगेका अध्यक्ष ओली अविश्वासको 'धरहरा' बोकेर फर्केपछि कसरी संरचना जेठ २ मै पुग्छ?
गम्भीर प्रश्न- संरचनाका हिसाबले त्यहीँ फर्केर के हुन्छ, मान्यता र प्राथमिकता नै फेरिएपछि?
रावल मैदानबाट भागिसके। तर, आफूलाई राष्ट्रवादको बर्कोमा ढाक्न उनले लड्नुपर्ने मुद्दा अब मैदान प्रवेश गर्दैछन्। उनले 'राष्ट्रघाती' भनेको एमसीसी संसदमा प्रवेश हुने नै छ। उनले खूब उठाएको चुच्चे नक्साअनुसारको भू-भाग फिर्ता ल्याउन पहल गर्नुपर्ने कुरा राख्ने समय आएको छ र उनले शंका गर्ने नागरिकता विधेयकमाथि संसदमा वृहत्तर छलफल हुनै बाँकी छ। अछामी जनतासँग त उनले माफी मागे। तर, उनलाई भरोसा गर्नेहरु, भीम बनाउनेहरु र भीमजस्तै ठान्नेहरु के गर्लान्? अरुलाई 'युधिष्ठर' बनाउने तहमा पुर्याएर आफू मैदानबाट भाग्ने 'भीम' नेपालको राजनीतिक इतिहासमा कहाँनेर दर्ज होलान्?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।