प्रतिकात्मक तस्वीर
काठमाडौं– जापान पठाउने भन्दै ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (महानगरीय अपराध महाशाखा)ले ठगी आरोपमा ४ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी घर भई काठमाडौं नयाँबजार बस्ने ३७ वर्षीया शुभद्रा परियार, इलामको सूर्योदय नगरपालिका–४ घर भई नयाँबानेश्वर बस्ने ३३ वर्षीया पूजा राई, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चे घर भई कपन बस्ने ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीकी २१ वर्षीया दीपिका केसी छन्।
उनीहरुले सामाजिक सञ्जाल फेसबूकमा टानकाओ नामको फेसबुक खोली विभिन्न व्यक्तिलाई रिक्वेस्ट पठाइ जापान जाने प्रलोभन देखाउने गरेका थिए । फेसबुकमा साथी बनेपछि आफू जापानको इमिग्रेसनमा काम गर्ने मान्छे भएको र जापानमा वर्किङ भिषाको लागि सबै प्रक्रिया गरिदिने भन्दै रकम असुल्ने गरेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्ण कोइरालाले बताए ।
उनीहरुले विभिन्न व्यक्तिलाई ३९ लाख ६८ हजार ९६६ रुपैयाँ बैंकमा जम्मा गर्न समेत लगाई ठगी गरेका कोइरालाले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।