काठमाडौं- ट्राफिक प्रहरीले चोरीको दुईवटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरीको दुई वटा मोटरसाइकलसहित १९ वर्षे एक युवकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दोलखा घर भएका १९ वर्षीय विज्ञान भुजेल छन्। सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले भक्तपुर कौशलटारबाट बा ९५ प २३३ नम्वरको केटिएम डुक २०० सीसीको मोटरसाइकललाई बिना साँचो डाइरेक्ट स्टार्ट गरी चलाई रहेको अवस्थामा उनलाई पक्राउ गरेको हो।
उक्त मोटरसाइकल हिजो आइतबार बिहान साढे ८ बजे भक्तपुर सानोठिमीबाट हराएको भनी बैदेश्वर गाउँपालिका-३, दोलखा घर भएका कृष्ण कार्कीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा उजुरी दिएका थिए।
चोरी भएको सूचना प्राप्त हुनासाथ ट्राफिक सादा पोशाकमा खटिएको प्रहरीको टोलीले आइतबार दिउँसो ३ बजे नै उक्त मोटरसाइकल भुजेललाई पक्राउ गरेको हो।
नियन्त्रणमा लिई थप अनुसन्धान र सोधपुक्ष पश्चात बा ८३ प ३३४५ नम्बरको २०० सीसी एनएस रातो पल्सर मोटरसाइकल समेत कौशलटारबाट बरामद गरेको छ। उक्त मोटरसाइकल गत जेठ १० गते बालकुमारी, ललितपुरबाट हराएको भनी टिकाभैरव घर भएका लक्ष्मण रानाले निवेदन दिएका थिए।
पक्राउ परेका व्यक्तिलाई मोटरसाइकलहरूसहित चोरी मुद्दामा अनुसन्धान कारबाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमीमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।