काठमाडौं- १९ करोड रुपैयाँ बराबरको चेकसहित एक मिटरब्याजीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको छ। दोलखाको मेलुङका ३३ वर्षीय गणेश उप्रेतीलाई ब्यूरोले गत शुक्रबार चाबहिलबाट पक्राउ गरेको हो।
उनकाे साथबाट १९ करोड ६१ लाख ८ सय ६० रुपैयाँ बराबरका चेक बरामद भएको सिआइबीका निर्देशक तथा डिआइजी धिरजप्रताप सिंहले बताए।
उप्रेतीले मध्यपुर ठिमी बस्ने प्रकाश कार्की, रामेछापका हेमरा गुभाजुलाई मिटरब्याजमा रकम लगाई पटकपटक गरी करोडौं उठाउने गरेको पाइएको उनले बताए।
कार्कीबाट पटकपटक गरि चार करोड १६ लाख रुपैयाँ रकमको चेक र हेमराज गुभाजुबाट चार करोड १४ लाख रकमको चेक लिएका थिए।चर्को मिटरब्याजमा लगाउने र रकम नदिए धाकधम्की दिई जबरजस्ती चेक काट्न लगाउने गरेको ब्यूराेकाे अनुसन्धाबाट खुलेको छ।
उनले चाबहिलमा द्रिशान्त अटोमोबाइल्स रिकन्डिसन सञ्चालन गरेका छन् भने नयाँ बानेश्वरमा वर्कसप सञ्चालन गर्दै आएका छन्। उनीमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको ब्यूराेले जनाएकाे छ।
मिटरब्याजबाट अकुत सम्पत्ति कमाएको आशंका गरेको ब्यूराेले उनको सम्पत्ति छानबिनका लागि सम्पत्ति सुद्धिकरण विभाग समेत पठाउने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।