काठमाडौं- सन् २०२३ को युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल खेल टर्कीको इस्तानबुलमा हुने भएको छ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले २०२३ को फाइनल खेल अटाटर्कको ओलम्पिक स्टेडियममा आयाेजना गर्ने निर्णय गरेको हो।
यसअघि सन् २०२३ को फाइनल जर्मनीको म्युनिखमा आयोजना गरिने भनिएको थियो। तर, यूईएफएले २०२५ को फाइनल जर्मनीको एलिनाज स्टेडियममा गर्ने जनाएकाे छ।
यसअघि २०२०-२१ को च्याम्पियन्स लिगको फाइनल इस्तानबुलमा हुने तय थियाे। तर, कोरोनाको कारण पोर्चुगलको पोर्टोमा सारिएको थियो।
यूईएफएले आगामी दुई सिजनको च्याम्पियन्स लिग, युरोपा लिग र युरोपा कन्फ्रेन्स लिगको समूह चरणको ‘ड्र’ पनि इस्तानबुलमै गर्ने निर्णय गरेको छ।
यस्तै, २०२२ को च्याम्पियन्स लिग फाइनल खेल रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा हुनेछ। २०२४ को फाइनल भने इंग्ल्यान्डको वेम्बली स्टेडियम हुने यूईएफएले जनाएको छ।
यता, २०२२ को युरोपा लिग फाइनल स्पेनको सेभियल र २०२३ को युराेपा लिग फाइनल हंगेरीको बुढापेष्टमा आयोजना हुनेछ।
आयरल्याण्डको डब्लिनले २०२४ को युरोपा लिग फाइनल आयोजना गर्नेछ।
यस्तै, स्पेनको विल्वाओले २०२४ को महिला च्याम्पियन्स लिग फाइनल आयाेजना गर्ने छ भने २०२५ को पुरुष युरोपा लिग फाइनल आयोजना गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।