फाइल तस्वीर।
काठमाडौं- करिब १ करोड रुपैयाँ बराबरको चेक बाउन्स मुद्दामा काभ्रेका ‘गुण्डा नाइके’ सत्यमान लामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले लामालाई रोशी गाउँपालिका–८ कटुन्जेबाट बिहीबार पक्राउ गरेको हो।
चेक बाउन्स मुद्दामा उच्च अदालत पाटनबाट पक्राउ पुर्जी जारी भएपछि लामालाई पक्राउ गरिएको काभ्रे प्रहरीले नेपाल लाइभलाई जानकारी दियो। पक्राउ परेका लामाको चेक बाउन्स मुद्दा काठमाडौंमा रहेकाले उनलाई काठमाडौं पठाउन लागिएको काभ्रे प्रहरीले जानकारी दिएको छ।
लामाविरुद्ध रामकुमार थापा क्षेत्री र सुरज सापकोटा चेक बाउन्समा उजुरी दिएका थिए। लामाले गत माघ २० गते क्षेत्रीलाई दिएको ७० लाखको चेक पर्याप्त रकम नभएपछि बाउन्स भएको थियो।
उता सापकोटालाई दिएको २२ लाखको चेक पनि पर्याप्त रकम नभएपछि बाउन्स भएको थियो। त्यसपछि उनीहरुले लामाविरुद्ध चेक बाउन्समा उजुरी दिएका थिए।
यसअघि पनि जिल्ला महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गर्दा उनलाई छुटाउन एमाले नेतृ नवीना लामा प्रहरी कार्यालय नै पुगेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।